महिलाविरुद्ध हिंसा बढ्दो

  • 9 मे 2014
तस्वीर कपीराइट bbc
Image caption महिलाविरुद्ध हुने हिंसाबारे धेरै आवाज उठे पनि त्यसले घटना कम गरेको देखिएको छैन।

दाइजो नल्याएको निहुँमा आफ्नै श्रीमान र सासुबाट चरम यातना पाएको दुई महिनापछि पश्चिम नेपालको बाँके जिल्लाकी रिहाना शेखको अहिले काठमाडौंमा उपचार भैरहेको छ।

रिहानाले जस्तो परिवारबाटै यातना पाउने गरेको घटना वर्षैपिच्छे सुनिँदा त्यसको ब्यापक आलोचना हुने गरे पनि त्यस्ता गम्भीर घटना कम हुनुको साटो वर्षैपिच्छे बढ्ने गरेको सरकारी आँकडाले देखाएको छ।

सामाजिक प्रतिष्ठा वा अज्ञानताका कारण प्राय: बाहिर नआउने कतिपय घरेलु हिंसाका घटनाहरु बिस्तारै जनचेतनाका कारण प्रकट हुन थालेको महिला हिंसा विरुद्ध लाग्नेहरुको भनाइ छ।

७ महिनाको गर्भवती अवस्थामै परिवारजनले माइतीबाट भैँसी र मोटरसाइकल दाइजोमा नल्याएको भन्दै कम्मरबाट तल मट्टितेल छर्किएर आगो लगाइएकी १९ वर्षीया रिहानाको उपचार दुई महिनापछि बल्ल वीर अस्पतालमा सुरु भएको छ।

यातना

बिहीबार बिहे गरेको १ वर्ष पुगेकै दिन रिहानाले आफुमाथि भएको घटना यसरी सुनाइन्।

उनले भनिन्, “हात बाँधे, मुख थुने। त्यसपछि मेरी सासुले मलाई घोप्टो पारेर मट्टीतेल खन्याइन्, अनि मेरा श्रीमानले सलाइ बाले। म जल्न थालेँ पेटमा छोरी थिइन्। छोरी जन्मिँदा उसको पनि गाला र हातमा जलेर उठेका फोकाहरु थिए।”

तर त्यसरी गर्भमा रहेको आफ्नै सन्तानसमेत जल्ने गरि घटना गराउने उनका श्रीमानसहित सासु अहिलेसम्म फरार भएको प्रहरीले बताएको छ।

विशेषगरी तराईका जिल्लाहरुमा देखिने यस्ता घरेलु हिंसाका घटना पछिल्ला वर्षहरुमा करीब दोब्बरको दरले सार्वजनिक हुने गरेको राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीले बताइन्।

उनले भनिन्, “गत वर्षभन्दा यो वर्ष निकै बढेको देखिन्छ। पहिला हामीकोमा त्यस्ता घटनाको संख्या २ सय ५० थियो भने यो वर्ष ४ सय पुगेको छ।”

छुटकारा

आयोगको आँकडा अनुसार कुनै पनि क्षेत्रका शिक्षित वा अशिक्षित महिलाहरु माथि सबैभन्दा बढी अर्थात ८१ प्रतिशत हिंसा श्रीमानहरुबाट भएका छन्।

रिहानाको जस्तो घटनामा धेरैजसो पीडितहरुले आफूमाथिको हिंसाबारे उजुरी गर्न गए पनि प्रहरीलगायत राज्यका संयन्त्रले पीडितका आवाजलाई चासो नदिँदा पीडकहरुको मनोबल बढिरहेको अन्सारीले बताइन्।

उनले भनिन्, “पीडित महिलाले पहिला संरक्षण खोज्छन् र त्यो राज्यको संरक्षण हो। त्यसपछि महिलामाथि के यातना भएको छ त्यसको यथेष्ट छानबिन गर्न र कानुन नभए बनाएर कार्यान्वयन गर्नुपर्छ।”

महिला हिंसाविरुद्धका विद्यमान कानुनहरुलाई परिमार्जन गरेर त्यसको कार्यान्वयन छिटोछरितो गराउने राज्यको इच्छा शक्ति नभएसम्म रिहानाजस्ता थुप्रै महिलाले दाइजोजस्तो कुप्रथा वा अन्य घरेलु हिंसाबाट छुटकारा नपाउने जानकारहरु बताउँछन्।