बिराटनगरमा हेपाटाइटिस ई को प्रकोप

  • 10 मे 2014
अस्पतालमा घुईँचो
Image caption गर्मीसँग रोग फैलिएपछि अस्पतालहरुमा विरामीको घुईँचो लाग्न थालेको छ

दूषित खानपानका कारण सर्ने भनिएको हेपाटाइटिस ई रोगबाट तीनसाताको अवधिमा विराटनगरमा कम्तीमा ७ जनाको मृत्यु भैसकेको र एक हजार भन्दा बढी मानिस संक्रमणबाट प्रभावित भएको चिकित्सकहरुले बताएका छन्।

हेपाटाइटिस ई को प्रकोप बढदै गएपछि सरकारी अधिकारीहरुले आफुहरु यसको कारणको खोजी र नियन्त्रणको प्रयासमा लागेको बताएका छन्।

अनुसन्धान

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सक टोलीले रोग नियन्त्रणका लागि सरोकारवाला पक्षहरुसंग आवश्यक परामर्श गरिरहेको बताइएको छ।

शुरुमा यो रोग फैलनुको कारणबारे चिकित्सकहरु नै अन्योलमा परेका थिए।

तर बिराटनगरस्थित कोशी अञ्चल अस्पताल र अन्य निजी स्वास्थ्य संस्थाहरुमा हेपाटाइटिसका बिरामीहरुको चाप अत्यधिक बढदै गएपछि खानेपानीको नमूना परीक्षण गरिएको थियो।

परीक्षणको नतीजाबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले भने, “परीक्षण गरिएका कतिपय नमूनाहरु अत्यन्त खराब देखियो। त्यसमा ई कोलीफर्म नामक ब्याक्टेरियापनि देखियो। जसको अर्थ हुन्छ ती नमूनाहरु मानव मलमूत्रले दूषित छन्। ”

पानी

हेपाटाइटिस ई को रोग उत्पन्न गराउने भाइरसपनि त्यस्तै दूषित पानी मार्फत फैलने बताइन्छ।

खानेपानी सँस्थानले वितरण गरेको खानेपानीमा दिशापिसाब मिसिएर उपभोक्ताका धारामा दूषित पानी पुगेका कारण एकै चोटि ठूलो संख्यामा मानिसहरुलाइ यो रोगको संक्रमण भएको चिकित्सकहरुको भनाइ छ।

यसबाट बच्ने उपायबारे डा मरासिनीले भने, “यो रोगको उपचारपनि छैन, अनि खोपपनि छैन। चिकित्सा विज्ञानले के भन्छ भने यो रोग सेल्फ लिमिटिङ्ग अर्थात आफैँ निको हुने रोग हो। सामान्यतया ४ देखि ६ हप्तामा यो निको भएर जान्छ। यसबाट बच्न तीन सफाईको उपाय अपनाउनु पर्छ। सफा हात, सफा पानी र सफा खानेकुरा। यी तीन सफा भए यो रोगपनि लाग्दैन, अरु झाडावान्ताको रोगपनि लाग्दैन।”

धाराको पानी दूषित भएको पुष्टि भएपछि उपभोक्ताहरुले टयुववेलको पानी प्रयोग गर्न थालेका छन्। तर त्यस्तो पानीमा पनि जोखिम त्यति नै हुने भएकाले उमालेर मात्र पानी पिउन चिकित्सकहरुले सल्लाह दिएका छन्।

हेपाटाइटिस ई को प्रकोप नियन्त्रण गर्न पानीको प्रयोगबारे चेतना फैलाउने र बिरामी परेकाहरुलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख नवराज सुब्बाले बताए।

तर उपभोक्ताहरुले सरकारी निकायको रोकथाम अभियान प्रभावकारी नभएको गुनासो गर्दै आएका छन्।