'छात्रा अपहरणको घटनाले मन कुँडिएको छ'

  • 10 मे 2014
तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति बाराक ओबामाको सट्टा मिशेल ओबामाले साप्ताहिक रेडियो संबोधन गरेको यो पहिलो पटक हो।

अमेरिकी प्रथम महिला मिशेल ओबामाले नाइजेरियामा स्कुले छात्राहरुको अपहरण विश्वभर शिक्षा प्राप्त गर्न लागिपरेका छात्राहरुले व्यापकरुपमा खेप्ने गरेको डर र दबाबको एउटा हिस्सा भएको बताएकी छन्।

उनले अप्रिल १४ मा विद्यालयबाट भएको दुई सयभन्दा बढी छात्राहरुको अपहरणको खबरले आफू र आफ्ना श्रीमान राष्ट्रपति बाराक ओबामाको मन कुँडिएको तथा आक्रोशित बनाएको बताइन्।

राष्ट्रपतिले गर्ने साप्ताहिक रेडियो संबोधनको क्रममा यसपटक मिशेलले बोल्दै उक्त भनाई राखेकी थिइन्।

निन्दा

यसैबीच नेपालका प्रधानमन्त्री सुशील कोइरालाले नाइजेरियामा विद्रोही समूहले गरेको छात्राहरुको सामूहिक अपहरणको निन्दा गरेका छन्।

नाइजेरियाको इस्लामवादी विद्रोही समूह बोको हरामले उक्त अपहरण आफुले गरेको बताएको छ।

अमेरिकामा मनाइने 'मदर्स डे' को पूर्वसन्ध्यामा संबोधन गर्दै मिशेलले अपहरणमा परेका छात्राहरुले आफू र आफ्ना श्रीमानलाई आफ्नै छोरीको स्मरण गराएको बताइन्।

उनले भनिन्, ‘’ती प्रत्येक किशोरीमा बाराक र मैले आफ्नी छोरीहरु देख्छौं। हामी उनीहरुका आशा र सपनाहरु देख्छौं र हामीले मात्र उनीहरुका आमाबुवाले अहिले महसुस गरिरहेको पीडाबारे कल्पना गर्न सक्छौं।‘’

उक्त अवसरमा उनले छात्रा शिक्षाको वकालत गर्ने पाकिस्तानी छात्रा मलाला युसुफजाईलाई तालेबान विद्रोहीले गोली हानी घाईते बनाएको घटना उद्धृत गरिन्।

मलाला र उनी जस्ता विश्वभरका छात्राहरुले देखाएको साहस र आशा आवश्यक कदम चाल्नका लागि आह्वान भएको मिशेलले बताइन्।

अभियान

अमेरिकी प्रथम महिलाले त्यहाँको विदेश नीतिबारे अभिव्यक्ति दिनुलाई असामान्य मानिन्छ।

तर मिशेलले अपहरणमा परेका ती छात्राहरुको रिहाईका लागि अभियान चलाएकी छन्।

रेडियोबाट प्रसारण गरिने र अनलाईनमा भीडियो भर्सन पाइने राष्ट्रपतिको साप्ताहिक संबोधनको क्रममा राष्ट्रपति ओबामाको छेउमा मिशेल पनि देखिने गरेकी छन्।

तर उनी एक्लैले संबोधन गरेको यो पहिलो पटक हो।

यसअघि यसै साताको शुरुतिर मिशेलले हाम्रा केटीहरुलाई फिर्ता ल्याउ भन्ने सन्देशसहितको प्लेकार्ड ह्वाइट हाउसमा बोकेको तस्वीर सामाजिक सञ्जाल ट्विटरमा राखेकी थिइन्।

छात्राहरुको अपहरणप्रति आक्रोश व्यक्त गर्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले बोको हरामविरुद्ध आवश्यक कारवाहीका लागि विचार गर्न सक्ने जनाएको छ।

ध्यान आकृष्ट

प्रधानमन्त्री सुशील कोइरालाले पनि नाइजेरियाको घटनाबारे एक विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यान आकृष्ट भएको जनाएका छन्।

उनले शिक्षा आर्जन गर्नुजस्तो मौलिक अधिकारको उपयोगमा व्यवधान सिर्जना गरी अपहरण वा बेच्ने कार्य गर्नु निन्दनीय भएको जनाएका छन्।