भारतको चुनावमा कीर्तिमानी मतदान

  • 12 मे 2014
बनारसमा मतदान तस्वीर कपीराइट Getty
Image caption मोदी र केजरीवालबीचको प्रतिस्पर्धाका कारण बनारसको चुनाव धेरैको चासोको विषय बनेको छ

मतदान गरेका मतदाताहरुमाझ गरिएका प्रारम्भिक मत सर्वेक्षणहरुले विपक्षी भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको नेतृत्वमा रहेको गठबन्धन विजयी हुने सँकेत दिएका छन्।

विगतमा विजेता ठ्याक्कै ठम्याउन नसक्ने गरेको भनिएका त्यस्ता सर्वेक्षणका अनुसार यसपाली मोदीको हिन्दू राष्ट्रवादी दलले देशको सँसदमा सबभन्दा धेरै सीट जित्ने छ।

ती सर्वेक्षणहरुले सत्तारुढ काँग्रेस पार्टीको समर्थनमा व्यापक गिरावट आउने सँकेतपनि दिएका छन्। अन्तिम नतीजा शुक्रबार घोषणा हुने बताइएको छ।

निर्वाचन अधिकारीहरुका अनुसार ६ हप्ता लामो मतदानमा विगतमा भन्दा धेरै अर्थात ६६ प्रतिशत मतदाता सहभागिता रहेको थियो।

बनारस

चुनावको अन्तिम दिन सोमबार मतदाताहरुको उत्साहजनक सहभागिता रह्यो।

मूल चासो नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको बनारस क्षेत्रमा थियो जहाँबाट प्रधानमन्त्रीका बलिया दाबेदार मानिएका भाजपाका नरेन्द्र मोदि र आम आदमी पार्टिका अरविन्द केजरीवाल आमने सामने लड्दैछन्।

दशकौँ यता पहिलोपटक बनारसमा निकै धेरै राजनैतिक प्रचारबाजी भएको थियो। शान्तिपूर्ण मतदान निश्चित गर्न हजारौँ प्रहरी तथा अर्धसैनिकलाई शहरमा खटाइएको थियो।

बनारसका मतदाताहरु गर्मी छल्नका निम्ति बिहानैदेखि मतदान केन्द्रमा लाम लागेका देखिएको बीबीसी सम्वाददाताहरुले बताएका छन्।

तस्वीर कपीराइट PTI
Image caption सुरक्षा तथा बन्दोबस्तीका कारण चुनाव ९ चरणमा गरिएको बताइएको छ

मतदाताहरुले विकास र परिवर्तन चाहेको बताए।

एकजना मतदाताले भने, “यस्तो सरकार बनोस् जसले सबलाई एकै किसिमको इज्जत र मान्यता दिलाओस्। स्वतन्त्रतापछि हामीले सँविधानमा प्राप्त गरेको बराबरी सम्मान सबैलाई मिलोस्। सबैलाई एक वर्ग र दर्जा मिलोस्। सबैलाई एकै नजरले हेरियोस्।”

सोमबारको मतदान बनारस सहित ४१ सिटका निम्ति उत्तर प्रदेश, बिहार तथा पश्चिम बँगाल राज्यका कतिपय क्षेत्रहरुमा गरिएका थिए।

भारतको केन्द्रिय सँसद लोकसभाका निम्ति भएको यसपालीको चुनाव गत अप्रिल ७ मा शुरु भएको थियो।

सुरक्षा तथा बन्दोबस्ती व्यवस्थापनका कारण चुनावलाई ९ चरणमा आयोजन गरिएको बताइएको छ।

करीब ८१ करोड मतदाताहरु रहेको भारतीय निर्वाचन विश्वभरमै प्रजातन्त्रको सबभन्दा ठूलो कसरतको रुपमा मानिन्छ।