श्रम स्वीकृति लिन एमआरपी अनिवार्य

  • 15 मे 2014
Image caption एमआरपी लिने प्रकृयामा रहेकाले रसिद पेश गरेमा पहिले भिजा लागिसकेकालाई भने श्रम स्वीकृति दिइने छ

हस्तलिखित राहदानीकै कारणले धेरै नेपालीहरु ठगिने गरेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउन सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) भएका व्यक्तिलाई मात्रै श्रम स्वीकृत दिने निर्णय आजदेखि लागु गर्दैछ।

पुरानै पासपोर्टमा भिसा पाएर एमआरपीको प्रकृयामा गएका व्यक्तिलाई यो नयाँ व्यवस्थाले अप्ठेरो नपर्ने विभागले जनाएको छ।

सरकारले हस्तलिखित राहदानी दुरुपयोग भएर धेरै कामदारहरुले दुख पाउने गरेको भन्दै डिजिटल प्रविधिको एमआरपी भएकालाई मात्रै श्रम स्वीकृति दिने निर्णय गत फेब्रुअरीमा गरेको थियो।

धाउनेहरु

हिंजोसम्म वैदेशिक रोजगार विभागका महानिर्देशक रहेका कृष्णहरि पुस्करले भने, "हस्तलिखित पासपोर्टको भरमा हुने मानव वेचविखन, एउटाको पासपोर्टमा अर्को मानिस जाने लगायतका विकृति नियन्त्रण होस भनेर बैदेशिक रोजगार विभागले आजदेखि विना एमआरपी श्रम स्वीकृति नदिने निर्णय कडाइ साथ लागु गर्दैछ।"

अहिले दैनिक १५ सयदेखि तीन हजार व्यक्तिहरु श्रम स्वीकृतिका लागि बैदेशिक रोजगार धाउने गरेका छन्।

ती मध्ये सबैसँग एमआरपी नभएको तर भिजा पाएर वैदेशिक रोजगारमा जाने तयारी गरेका व्यक्तिहरुको हकमा एमआरपीको प्रकृयामा गएको प्रमाण हेरेर श्रम स्वीकृति दिइने बताइएको छ।

महानिर्देशक पुस्करले भने, "पहिलेको पासपोर्टमा भिजा लागेकाहरुले एमआरपीको लागि निवेदन दिएको रसिद उपलब्ध गराएमा पनि श्रम स्वीकृति दिइन्छ।"

लाइन

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले संसारभर सन् २०१५ को नोभेम्बरसम्म एमआरपी प्रयोगमा आउनुपर्ने निर्णय गरेको छ।

त्यो म्याद अनुसार बैदेशिक रोजगारमा जाने नेपालीहरुले सन् २०१५ को शुरुसम्ममा सबैले एमआरपी लिइसक्नुपर्ने विभागले जनाएको छ।

त्यसका लागि अहिलेदेखि एमआरपीको कडाइ नगरे कतिपय कामदारलाई विदेशबाट एमआरपीको प्रकृयामा जान झन् कठिनाइ हुने भन्दै यो व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको विभागको भनाई छ।

तर काठमाण्डूमा एमआरपी बनाउन निकै लामो लाइनमा बस्नु पर्ने बाध्यता छ।