मनमोहन सिंहद्वारा राजीनामा

  • 17 मे 2014
AICC तस्वीर कपीराइट Getty Images
Image caption भारतीय कंग्रेसले आफ्नो इतिहासकै नराम्रो हार व्योहोरेको छ

भारतीय प्रधानमन्त्री मनमोहन सिंहले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष राजीनामा बुझाएका छन्।

शुक्रबार आमचुनावको परिणाममा विपक्षी भारतीय जनता पार्टीको जीतपछि सिंहले आफ्नो पद छोडेका हुन्।

यी अर्थशास्त्री राजनीतिज्ञ दुई कार्यकाल गरी १० वर्षसम्म प्रधानमन्त्री रहे।

सम्बोधन

त्यसअघि प्रधानमन्त्रीका रुपमा राष्ट्रको नाममा अन्तिम सम्बोधन गर्दै उनले बीजेपीलाई शानदार जीतका लागि बधाइ दिए।

सिहंले १० वर्षसम्म कंग्रेस नेतृत्वको गठवन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्सको सरकारको नेतृत्व गरेका थिए।

उनले आफ्नो जीवन एउटा खुला किताब जस्तै भएको र देशको सेवाका लागि आफुले पूरा शक्ति लगाएर काम गरेको बताए।

उनले भने, "यो देशले मलाई धेरै माया दियो। मुलुक टुक्रंदा बेघर भएको एउटा बालकलाई यत्रो उच्चपदसम्म पुर्याइदियो। यो एउटा यस्तो ऋण हो जुन म कहिल्यै चुकाउन सक्दिन होला। यो त्यस्तो सम्मान हो जसमाथि मलाई सधै गर्व रहनेछ।"

उनले भारत बद्लिदैं गरेको विश्वअर्थतन्त्रमा एउटा महत्वपूर्ण शक्तिका रुपमा उदय हुने विश्वास पनि व्यक्त गरे।

उनले आफूले भारतको सेवा गर्न पाएकोमा खुसी लागेको उल्लेख गर्दै अब बन्ने सरकारले आफ्नो कामकाज सफलतापूर्वक सम्पन्न गर्ने आशा पनि व्यक्त गरे।