मोदी विजय जुलुसमा

  • 17 मे 2014
तस्वीर कपीराइट Getty
Image caption नरेन्द्र मोदीले आफ्नो जीतको श्रेय पार्टी कार्यकर्ता र मतदातालाई दिएका छन्

लोकसभा चुनावमा विजयी भारतीय जनता पार्टी बीजेपीका नेता तथा भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदी राजधानी नयाँ दिल्लीमा विजय जुलुसमा सहभागी भएका छन्।

आफ्नो गृहराज्य गुजरातबाट दिल्ली पुगेका उनलाई समर्थकहरुले भव्य स्वागत गरेका थिए।

पार्टी कार्यलयमा सम्बोधन गर्दै उनले चुनावमा आफ्नो जीत नभइ भारतीय जनता पार्टीको जित भएको बताएका थिए।

उनले चुनाव जिताएकोमा जनतालाई धन्यवाद दिएका छन्।

मोदीले विमानस्थलबाट आफ्नो पार्टी कार्यलयसम्म विजयी जुलुसमा सहभागिता जनाएका थिए।

जुलुस

सो रुटमा लाम लागेका मानिसहरुले भाजपाको झन्डा फहराउँदै मोदीलाई स्वागत गरेका थिए।

भाजपाको पार्टी कार्यलय बाहिर कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।

दलका शीर्ष नेताहरुले मोदीलाई पार्टी कार्यलयमा स्वागत गरेका थिए।

कुनै समय चिया पसलमा काम गर्ने मोदीले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको नेतृत्व गर्न लागेको अवसरमा उनको पार्टी कार्यलय बाहिर बाजागाजासहित खुशीयाली मनाइएको छ।

अधिकांश स्थानको मतपरिणाम घोषणा भइसक्दा बीजेपीले बहुमतीय सरकार बनाउन आवश्यक २ सय ७२ सीट जितिसकेको छ।

बहुमत

बीजेपी नेतृत्वको गठबन्धनले ५ सय ४३ सदस्यीय लोकसभामा ३३० वटा सीट जित्ने अपेक्षा गरिएको छ।

यसैबीच बहिर्गमन हुन लगेका भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भाजपा र मोदीलाई शानदार चुनावी जितको लागि शुभकामना दिएका छन्।

पछिल्लो दश वर्षमा भारतले धेरै उपलब्धि हासिल गरेको भन्दै उनले जनतालाई त्यसको जस दिए।

सिंहले आफ्नो जीवन र कार्यकाल खुल्ला किताब जस्तै भएको दोहोर्याउदैँ आफूले इमान्दारीपूर्वक जनताको सेवा गर्ने प्रयास गरेको बताए।

उनले आजै भारतीय राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन्।