तामिल स्मृतिसभामा प्रतिबन्ध

  • 18 मे 2014
Image caption पाँचवर्ष अघि युद्धविराम हुनु अघि हजारौं तामिलहरु मारिएका थिए

पाँच वर्ष अघि गृहयुद्ध अन्त्य हुँदा मारिएका तामिलहरुको स्मृतिमा आयोजित कार्यक्रम हुन नदिन श्रीलंकाको सेनाले उत्तरी शहर जाफ्नास्थित मुख्य तमिल पार्टी कार्यालयलाई घेराउ गरेको छ।

उक्त क्षेत्रमा उल्लेख्य संख्यामा सुरक्षा फौजको उपस्थिति रहेको बताइएको छ।

तर राजधानी कोलोम्बोमा भने राष्ट्रपति महिन्दा राजपाक्छेले विशाल सैन्य प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै युद्धमाथिको विजयले श्रीलंकालीहरुलाई शान्ति र स्थायित्व दिएको बताए।

मारिएका हजारौं आफन्तहरुको सम्झनामा अल्पसंख्यक तामिलहरुलाई मैनबत्ती बाल्न दिनुको सट्टा बहुसँख्यक सिँहालाको प्रभुत्व रहेको सरकारले उत्तरी जाफ्नामा त्यस्ता कार्यक्रमहरुमाथि प्रतिबन्ध लगाएको छ।

घेराउ

त्यहाँस्थित तामिल राष्ट्रिय गठबन्धनको स्थानीय कार्यालयमा आफन्तहरुले साँझपख मैनबत्ती बाल्न खोजेका बेला हतियारले सुसज्जित गाडिहरुले कार्यालय घेरेका छन्।

अस्वाभाविक रुपमा उल्लेख्य संख्यामा सेनाको दस्ता त्यहाँका बाटोहरुमा तैनाथ छन्।

शहरबाहिर आफन्तहरुले अर्को पवित्र ठाउँमा मरेकाहरुको सम्झना गर्ने योजना बनाइरहेको बेला सेनाको गस्तीले मन्दिर र बाटोहरुमा समेत अवरोध पुर्याएका छन्।

जाफ्नाका थुप्रै क्याथोलिक गिर्जाघरहरुलाई दिनको एउटाको दरले मात्र मैनबत्ती बाल्न भनिएको छ।

उत्तरी तमिलका धेरै परिवारले युद्धबिराम गर्दा ताका आफ्ना हजारौं आफन्त गुमाएका थिए।

बञ्चित

तर सरकारले मारिएकाहरुमध्ये अधिकाँश तमिल टाइगर्स विद्रोही भएको बताएको छ।

वार्षिक विजय परेडलाई सम्बोधन गर्दै राष्ट्रपति राजपाक्छेले उत्तरी क्षेत्रमा कसैलेपनि टाइगर्स विद्रोहीको हातबाट मारिएकालाई नसम्झिएको आरोप लगाए।

उनले टाइगर्स समूहका लडाकुहरुले विगतमा हाल नाइजेरीयामा अपहरण गरिएजस्तै सयौं बालबालिकाहरु अपहरण गरेको बताए।