न्यायाधीश सुनुवाईको प्रकृया अझै अन्यौलमा

  • 20 मे 2014
Image caption न्यायाधीश अभावले दैनिकको मुद्दा सुनुवाई सर्वोच्च अदालतमा प्रभावित भएको छ

सर्वोच्च अदालतको स्थायी पदका लागि प्रस्तावित आठ न्यायाधीशबारे संसदीय सुनुवाई गर्न आठ दिन समय बाकिँ रहँदा संसदीय सुनुवाई विशेष समिति उजुरीकर्ता र न्यायाधीशहरुलाई बोलाउने जस्ता प्रारम्भिक प्रकृयामै प्रवेश गर्न सकेको छैन।

आइतबारदेखि दिनदिनै समितिको बैठक बस्दै आएको भए पनि यसअघि सिफारिसबारे जवाफ दिन अस्वीकार गरेको न्याय परिषदलाई पुन आधार र कारण सोधेर पत्र लेख्ने वा न्यायाधीश सिफारिसबारे पुनर्विचार गर्न पठाउने भन्नेमै समिति सदस्यहरु कुनै निर्णयमा पुग्न नसकेका हुन्।

विगतमा भन्दा यसपटक प्रस्तावित न्यायाधीश र उनीहरुविरुद्ध परेका उजुरीको संख्या धेरै भए पनि सुनुवाईको प्रकृया भने सुस्त रुपमा अघि बढेको देखिन्छ।

अलमल

तीन दिन यता बस्दै आएको समितिको बैठक, परिषदले गत बिहीबार न्यायाधीश सिफारिसबारे आफूहरु संसदप्रति जवाफदेही नहुने भन्ने लिखित जवाफ र त्यसकै भोलिपल्ट सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमै केन्द्रित छ।

करिब एक महिना भइसक्दा समेत उजुरीकर्ता र प्रस्तावित न्यायाधीशलाई सुनुवाईका लागि आब्हान गर्ने प्रक्रियामा पनि समिति अहिलेसम्म पुग्न सकेको छैन।

समितिका सचिव ध्रुब घिमिरेले भने, "अहिलेसम्म न्याय परिषद्लाई कस्तो पत्र लेख्ने भन्ने विषयमै समिति अड्किरहेको छ। उजुरीकर्ता र प्रस्तावित न्यायाधीशलाई बोलाउने प्रकृयामा पुगेकै छैन।"

प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको संसदीय सुनुवाई र उनीविरुद्ध परेको एउटा उजुरीका लागि एक दिन समय खर्चेर समितिले त्यसको भोलिपल्ट अनुमोदनको निर्णय गरेको थियो।

अन्योल

त्यही अनुपातमा सुनुवाइ गर्दा पनि आठ न्यायाधीश र उनीहरुविरुद्ध परेका २२ थान उजुरीका लागि बाकिँ रहेको केबल एक साताको समय अपुग हुनसक्ने कतिपय बताउंछन्।

यस्तो बेला समितिले दैनिक प्रकृया टुंग्याएर सुनुवाईका लागि समय खर्चनुपर्ने समिति सचिव घिमिरेले बताए।

उनले भने, "विगतमा भन्दा यसपटक न्यायाधीशविरुद्ध परेका उजुरी अलि बढी नै छन्। अब समिति न्याय परिषदको प्रकृया टुंग्याएर सुनुवाईका लागि दैनिक बैठक राखेर अगाडि बढ्नुपर्छ।" परिषदको कामकारबाहीलाई लिएर सुरु देखि नै कडा रुपमा प्रस्तुत भएको समिति समय घर्किँदै जाँदा सुनुवाइको मिति तय गर्ने जस्तो प्रारम्भिक प्रकृयामा समेत प्रवेश नगरेकाले ३५ दिने म्याद गुज्रिने हो कि भन्नेमा धेरैले आशंका गर्न थालेका छन्।