रुसले चीनलाई ग्याँस बिक्री गर्ने

  • 21 मे 2014
पाइपलाईन
Image caption रुसी तथा चिनियाँ कम्पनीहरुले गएको दश वर्षदेखि त्यस्तो संझौता बारे छलफल गरिरहेका थिए

झण्डै एक दशक लामो छलफल पछि रुसले चीनलाई प्राकृतिक ग्याँस बिक्री गर्न सहमति जनाएको छ।

तीस वर्षको अवधिमा रुसले चीनलाई झण्डै चारसय अर्ब डलर बराबरको ग्याँस बिक्री गर्न सहमति जनाएको ठानिएको छ।

शाङघाइमा उक्त संझौतामा हस्ताक्षर गर्न आयोजित समारोहमा चिनियाँ राष्ट्रपति सि जिनपिङ तथा उनका रुसी समकक्षी भ्लादिमिर पुटिन उपस्थित थिए।

छलफल

रुसको सरकारी स्वामित्वमा रहेका कम्पनी ग्याजप्रम र चीनको चाइना न्याशनल पेट्रोलियम कर्पोरेशनले गएको दश वर्षदेखि त्यस्तो संझौता बारे छलफल गरिरहेका थिए।

उक्त संझौता कतिको हो भन्ने खुलाइएको छैन।

तर तीस वर्षको अवधिमा रुसले चीनलाई झण्डै चारसय अर्ब डलर बराबरको ग्याँस बिक्री गर्न सहमति जनाएको ठानिएको छ।

युक्रेन सँकटका कारण युरोपेली मुलुकहरुसंग तनाव बढेपछि रुसले वैकल्पिक बजार हेरिरहेको थियो।

लण्डनस्थित च्याथम हाउससंग संबद्ध एकजना राजनीतिक विश्लेषक जोन लफले भने, "निश्चय नै यो संझौताको एउटा राजनीतिक पक्ष छ र त्यो कुरा दुबै देशले आज जारी गरेकेा विज्ञप्तिबाट पनि थाहा हुन्छ। मेरो विचारमा पश्चिमा मुलुकहरुसंगको संबन्धमा सँकट बढीरहेका बेला रुसले यो उपयु्क्त समय हो भन्ने ठानेको हुनसक्छ।"

युक्रेनको घटनाक्रमलाई लिएर अमेरिका र पश्चिमा मुलुकहरुसंग तनाव बढेको बेला रुसले चीनसँग ग्याँस बिक्री संझौता टुँग्याएको हो।

अहिलेसम्म युरोप नै रुसी ग्याँस आयात गर्ने प्रमुख महादेश हो।

तर हालै युरोपेली मन्त्रीहरुले रुसी ग्याँसको विकल्प खोज्नुपर्ने कुरा सार्वजनिकरुपमा बताउँदै आएका थिए।

मोलतोल

ग्याँसको बिक्री मूल्य लाई लिएर चिनियाँ अधिकारीहरुले कडा मोलतोल गरेको ठानिएको छ।

संझौता अनुसार सन् २०१८ देखि रुसले चीनलाई प्रतिवर्ष झण्डै ३८ अर्ब घनमिटर प्राकृतिक ग्याँस बिक्री गर्नेछ।

यसअघि चीनले सबैभन्दा बढी प्राकृतिक ग्याँस तुर्कमेनिस्तानबाट किनीरहेको थियो। गत वर्षदेखि उसले बर्माबाट पनि ग्याँस आयात गर्न लागेको थियो।

चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो।

गत वर्ष दुबै देशबीच नब्बे अर्ब डलर बराबरको दुईपक्षीय व्यापार भएको थियो।

आउँदो दश वर्षमा त्यो बढेर २०० अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ।