कोइराला मोदीको शपथमा जाने

  • 22 मे 2014
modi तस्वीर कपीराइट AFP
Image caption नरेन्द्र मोदीको शपथका लागि दक्षिण एसियाली मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरुलाई निम्तो दिइएको छ

दक्षिणी छिमेकी भारतमा प्रधानमन्त्री पदमा प्रस्तावित भारतीय जनता पार्टी बीजेपीका नेता नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री सुशील कोइराला अर्को साता दिल्ली जाने भएका छन्।

नेपाल-भारत सम्बन्धको इतिहासमा कुनै भारतीय प्रधानमन्त्रीको शपथका लागि नेपाली समकक्षी जान लागेको सम्भवत: यो पहिलो घटना भएको जानकारहरु बताउँछन्।

यसक्रममा भारतबाट नेपालमा हुने उच्चस्तरीय भ्रमण निकै पातलिदैं गएको देखिन्छ भने नेपाली प्रधानमन्त्रीहरु र उच्चस्तरीय नेताहरुको औपचारिक, अनौपचारिक दिल्ली दौडाहा भने वर्षैपिच्छे जस्तो भएको देखिन्छ।

ठूलो अन्तर

भारतीय प्रधानमन्त्रीले नेपालको द्धिपक्षीय भ्रमण नगरेको करीब १७ वर्ष भइसकेको छ।

सन् २००२ मा एउटा क्षेत्रीय शिखर सम्मेलनमा भाग लिन अटलबिहारी बाजपेयी काठमाडौ आएपनि सन् १९९७ मा इन्दरकुमार गुजरालपछि कुनै पनि भारतीय प्रधानमन्त्रीले द्धिपक्षीय भ्रमणका लागि नेपालमा पाइला टेकेका छैनन्।

नेपालतिरबाट भने २०६२/६३ को जनआन्दोलनपछि गठित सरकारहरुमात्रै हेर्दा पनि एक जनालाई छाडी चार जना प्रधानमन्त्री औपचारिक भ्रमणमा दिल्ली पुगे।

यही अवधिमा सत्तामा नहुँदा समेत शीर्ष नेताहरुको औपचारिक अनौपचारिक दिल्ली दौडाहा झन् बाक्लो देखियो।

राष्ट्रपति रामवरण यादव त पदसम्हालेयता तीनपटक भारत पुगिसकेका छन्।

द्धिपक्षीय नभएपनि प्रधानमन्त्रीका रुपमा भारत पुग्ने सूचीमा सुशील कोइरालाको नाम पनि अब थपिंदैछ।

आगामी सोमबार हुने मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जाने औपचारिक निर्णय बिहीबार मन्त्रिपरिषद्ले गरेको छ।

संकेत

शपथ ग्रहणमा निमन्त्रणा गर्ने भारतको कदमले छिमेकमा उसको भूमिकामा सकरात्मक परिवर्तनको संकेत गरेको भन्दै त्यसलाई सरकारले सकरात्मक रुपमा लिएको अधिकारीहरुले बताएका छन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले भने, "यसले छिमेकप्रति नयां भारतीय सत्ताले दर्शाएको प्राथमिकताको संकेत गर्दछ। अर्कोतिर विश्व रंगमञ्चमा भारतीय भूमिका बढ्दै जांदा उसले छिमेकलाई कति महत्वपूर्ण मानेको छ भन्ने देखिन्छ।"

भारतले नेपालसहित दक्षिण एसियाली मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरुलाई शपथ ग्रहण कार्यक्रममा निमन्त्रणा गरेको सम्भवत: यो पहिलो घटना भएको ठानिएको छ।

भारतीय विदेशमन्त्रालयका अनुसार बंगलादेशबाट सभामुख उपस्थित हुने भएपनि पाकिस्तानबाहेकका दक्षिण एसियाली मुलुकहरुबाट सरकार तथा राष्ट्रप्रमुखहरु सहभागी हुने निश्चित भइसकेको छ।

उक्त कार्यक्रममा सहभागी हुन एक रात दिल्लीमा बिताउंदा कोइरालाले मोदीसहित वरिष्ठ भारतीय नेताहरुसंग दुईपक्षीय भेटवार्ताहरु गर्ने तय भएको अधिकारीहरुले बताएका छन्।

आनाकानी

अर्को छिमेकी चीनले दुई सातापछि हुने एउटा विशाल अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीमा सहभागी भइदिन पठाएको निमन्त्रणाबारे भने प्रधानमन्त्रीले औपचारिक निर्णय गरिसकेका छैनन्।

अनौपचारिक भएपनि पहिलो भ्रमण चीनतिर गएको भन्दै विगतमा केही प्रधानमन्त्रीप्रति दिल्लीले असन्तुष्टि पोखेको पृष्ठभूमिमा कोइरालाले उक्त निमन्त्रणा स्वीकार गर्न आनाकानी गरिरहेको जानकारहरुले बताएका थिए।

तर अर्को साता दिल्ली पुगेर फर्केपछि कोइरालाका लागि चीन भ्रमण स्वीकार गर्न सम्भवत: अब सहज हुने कतिपयले ठानेका छन्।