आरोहणका लागि थप सय हिमाल खुला

  • 22 मे 2014
सगरमाथा तस्वीर कपीराइट AP
Image caption नेपालमा आरोहणका निम्ति खुला गरिएका छ हजार मिटरभन्दा अग्ला शिखरको संख्या ४१४ पुगेको छ

सरकारले थप १०४ वटा हिमालहरु आरोहको लागि खुल्ला गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिले पर्वतारोहण र पदयात्राको अवसरले पर्यटकको संख्या वृद्धि हुने भन्दै थप पदयात्रा मार्गहरु समेत परिक्षणको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

सगरमाथा क्षेत्रमा आएको हिउँ पहिरोमा १३ शेर्पा आरोहण सहयोगीहरुको निधन भएपछि यस पटकको पर्वतारोहण याम खल्लो भएका बेला सरकारले ती निर्णय लिएको हो।

संख्या

छ हजार मिटर भन्दा बढी उचाई भएका १३ सय दशवटा हिमाल मध्ये यसअघि ३१० वटा मात्रै आरोहण गर्न सरकारले खुला गरेको थियो।

ती मध्ये कतिपयको नाम एकभन्दा बढी राखिएकाले आरोहणको अनुमति दिइएका हिमालको संख्या ३२६ भनिदै आएको थियो।

पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखाका प्रमुख मधुसुदन बुर्लाकोटीले भने, “अब १०४ वटा थपिएपछि आरोहण गर्न पाइने हिमालको संख्या ४१४ पुगेको छ र पदयात्रा गर्न पाइने हिमाल-पर्वतको उचाई ५ हजार ५ सय मिटरबाट ५ हजार ८ सय मिटर पुर्याइएको छ।”

नयाँ नाम

थप हिमालहरु आरोहण गर्न चाहने थुप्रै अन्तर्राष्ट्रिय पर्वतारोही भएको बेला सरकारको यो निर्णयले पर्यटन प्रवर्द्धनमा थप मद्दत गर्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य आङ छिरी शेर्पाको विश्वास छ।

उनले भने, “विशेष गरेर अन्तर्राष्ट्रिय आरोहीहरुकै आग्रहमा नयाँ चुचुरा आरोहणका निम्ति खुला गरिएकाले पर्वतीय पर्यटनको विकाश हुन्छ भन्ने आशा लागेको छ।”

सरकारले तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले नेपालको पर्वतारोहण पर्यटनमा ठूलो योगदान पुर्याएको भन्दै उनीहरुको नामबाट हिमालको नाम राखि तिनलाई पनि आरोहणका लागि खुल्ला गरेको छ।