प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ शुरु

  • 23 मे 2014
Image caption सुनुवाइका लागि बोलाइएका प्रस्तावित न्यायाधीशहरु आत्मविश्वासका साथ प्रस्तुत भएको देखिन्थे

समितिमा उपस्थित नहुने सिफारिसकर्ता निकाय न्याय परिषद्को अडानबीच संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरुबारेको सुनुवाइ शुक्रबारदेखि शुरु गरेको छ।

उसले शुक्रबार दुई जना न्यायाधीशहरुको सुनुवाइ सकेको छ।

समितिले अबको चार दिनभित्र बाँकी ६ जना प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ गरिसक्नुपर्ने छ।

उसले प्रस्तावित आठ जना न्यायाधीशहरुमध्ये शुक्रबार वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीविरुद्ध परेका उजुरीहरुबारे सुनुवाइ गरेको हो।

सुनुवाई

उपाध्यायसँग बिहान सुनुवाइ गरेका समितिका सदस्यहरुले दिउँसो पराजुलीमाथि परेका २१ थान उजुरीहरुबारे प्रश्न र टिप्पणीहरु गरेका थिए।

सुनुवाइका क्रममा केही सदस्यहरुले उठाएका हलुका प्रश्न र टिप्पणीहरुले उक्त प्रक्रियामा उनीहरु विना तयारी उपस्थित भएजस्तो देखिन्थ्यो।

समिति सदस्य कृपाराम रानाले पराजुलीबारे यस्तो प्रश्न गर्दा बैठक कोठा हाँसोले गुञ्जयमान भएको थियो।

उनले भने, ''चार चार पटक बिहे गरेको यहाँ उजुरी आएको छ। त्यसरी पटक पटक विवाह गर्नुपर्ने कारण के होला? म प्रश्न गर्न चाहन्छु, तपाईंले संविधानको कुन धारा अनुसार चार चार वटा बिहे गर्नुभयो?''

टिप्पणी

त्यस्तै अर्का सदस्य हरिचरणले साहले टिप्पणी गर्दा उक्त कुरा टिप्पणी कम र ठट्यौली बढी जस्तो भान हुन्थ्यो।

साहको टिप्पणी थियो, ''श्रीमानविरुद्ध त धेरै पो उजुरी परेका छन्। तपाईंलाई डर लागेन? पत्रपत्रिकाले धेरै लेखेका छन्। निकै निडर भएर प्रस्तुत भएको देखेर मलाई आश्चर्य पो लाग्यो।''

समितिका सदस्यहरुको यस्ता प्रश्न र टिप्पणीबीच सुनुवाइमा बोलाइएका न्यायाधीशरुकै टिप्पणी भारी सुनिन्थ्यो।

पराजुलीले भने, ''न्यायाधीशले बोल्दा उसका भाषा हुन्छन्, शिष्टता हुन्छ। र त्यसरी नै शिष्ट प्रकारले सोध्ने प्रक्रिया हुन्छ। पालो पालो बोल्ने चलन हुन्छ। उसका कुरा भन्ने मौका दिनुपर्छ।''

समितिले अर्को बैठक शनिबार बोलाएको छ।

संसदको कार्यसञ्चालन नियमानुसार बाँकी ६ जना प्रस्तावित न्यायाधीशरुहरुबारे चार दिनभित्र सुनुवाइ गर्न नसके उनीहरु नियुक्तिका लागि स्वतः योग्य हुनेछन्।