थाइल्याण्डलाई अमेरिकी सहायता कटौती

  • 24 मे 2014
तस्वीर कपीराइट BBC World Service
Image caption थाइ सेनाध्यक्षले देशमा सुधार भएपछी मात्र चुनाव हुने बताएका छन्

थाइल्याण्डमा भएको सैन्य कू पछि संयुक्त राज्य अमेरिकाले थाइ सेनालाई उपलब्ध गराउन लागेको ३५ लाख डलर बराबरको सहायता निलम्बन गरेको छ।

अमेरिकाले तत्काल नागरिक शासन पुनर्बहाली गर्न पनि ध्यानाकर्षण गराएको छ।

वासिङ्गटनले पर्यटकहरुलाई बैंङककको भ्रमण रद्द गर्न र कम महत्वपूर्ण भ्रमणका लागी थाइल्याण्ड नजान भनेको छ।

पूर्व प्रधानमन्त्री यिङलक सिनावतले सैन्य हिरासतमा रात विताइरहँदा अमेरिकी धारणा आएको हो।

आलोचना

अन्तर्राष्ट्रिय तहबाट भैरहेको सैन्य कू प्रतिको विरोधमा समर्थन जनाउने क्रममा अमेरिकी विदेशमन्त्री जोन केरीले उक्त कदमको कुनै सान्दर्भिकता नरहेको बताए।

झन्डै १ करोड ५ लाख डलर आर्थिक सहयाता उपलब्ध गराउदैँ आएको अमेरिकी विदेशमन्त्रालयले तत्कालै साढे ३५ लाख डलर बराबरको सैन्य सहायता रोक्ने निर्णय गरेको हो।

तर हाल जारी थाइ सेनासँगको संयुक्त सैन्य अभ्यासलाई नरोक्ने एक जना अमेरिकी अधिकारीले बताएका छन्।

एक जना विदेश मन्त्रालयकी प्रवक्ताले सम्वाददाताहरुलाई बताए अनुसार अमेरिकी अधिकारीहरुले थाइ सैन्य अधिकारीहरुसँग सम्पर्क गरी तत्काल नागरीक शासन पुनर्बाहाली गर्न, लोकतन्त्र तर्फ देशलाई फर्काउन र अनिश्चिताको समयमा मानवअधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएका छन्।

बिहीबार सत्ता हातमा लिएको सेनाले पूर्व प्रधानमन्त्री यिङलक र बर्खस्त गरिएको सरकार सम्बद्ध झन्डै एक सय जना नेताहरुलाई शुक्रबार बैकंक स्थित सैनिक परिसरमा बोलाएको थियो।

पक्राउ

सेना समक्ष उपस्थित भएकी पूर्व प्रधानमन्त्री यिङलकलाई केही घण्टा नियन्त्रणमा राखिएको थियो र त्यहाँबाट राजधानी बाहिर गोप्य स्थानमा लगिएको जनाइएको छ।

करिव १ सय ५५ जना नेताहरुलाई देश नछाड्न आदेश दिइएको छ।

बैङकंकबाट हाम्रा सम्वाददाता भन्छन्, “अहिलेसम्म कति जनालाई गिरफ्तार गरियो भन्ने प्रष्ट छैन् र गिरफ्तार गरिएकाहरुलाई बाहिर सम्पर्क विच्छेद गरेर विभिन्न सैनिक केन्द्रहरुमा राखिएको छ।”

रोयटर्स समाचार संस्थाले सैनिक अधिकारीलाई उदृत गर्दै यिङलकसँगै उनकी बहिनी र एक जना नजिकका नातेदारलाई गिरफ्तार गरिएको जनाएको छ।

थाइ सेनाका एक जना प्रवक्ताले बीबीसीलाई भने गिरफ्तार गरिरएका व्यक्त्तीहरु राजनीतिक द्वन्दसँग सम्बन्धित भएको र उनीहरुलाई पक्राउ गर्दा सेनाले निष्पक्षतापूर्वक काम गरेको बताएका छन्।

उनी भन्छन्, “ हामीले शक्ति आर्जन गर्न यो कदम चालेका होइनौं, हामीले देशको लागी यसो गरेका हौं, हामीले यसको अन्तराष्ट्रीय प्रभाव बुझेका छौँ।”

चुनाव

सैन्य प्रमुख जनरल प्राइयुत जानोचाले मुख्य अधिकारीहरुसँग छलफल गरी चुनाव अघि आर्थीक समाजीक र राजनीतिक सुधार गर्न निर्देशन दिएका छन्।

देशका विभिन्न भागका गभर्नर, व्यवसायी र कर्मचारीलाई बोलाएर शुक्रबार गरिएको छलफलमा उनले देशमा शान्ति आएपछि जनतालाई सता हस्तान्तरण गर्ने बताए।

सो छलफलमा सहभागी एक जना अधिकारीले एसोसिएटेड प्रेस समाचार संस्थालाई भने, “चुनाव हुन्छ तर केही समय लाग्न सक्छ। सेनाध्यक्षले कहिले चुनाव हुन्छ भन्नेबारेमा केही पनि भनेनन्।”

हाल देश सञ्चालनको जिम्मा ६ जना उच्च शैनिक अधिकारीहरुलाई दिइएको छ र सेनाका प्रदेसिक कमान्डरहरुले स्थानिय निकायको सुपरिवेक्षण गर्ने जिम्वेवारी पाएका छन्।

बैङकंकबाट बीबीसीका जनाथन हेड भन्छन् “विगतमा भएका सैन्य कु जस्तो तत्काल नागरीक शासनमा फर्काउने कुनै प्रतिबद्धता यस पटक गरिएको छैन्।”

थाइलेन्डको सेनाले सन् १९३२ मा निरकुशं राजतन्त्रको अन्त्य भए यता १२ पल्ट सत्ता आफ्नो हातमा लिएको छ।

भुतपूर्व प्रधानमन्त्री यिङलकका दाजू थाक्सिन सिनावातलाई सन् २००६ मा सेनाले बर्खास्त गरेको थियो।

दुवैलाई मध्यम वर्गीय र उच्च घरानाका धेरैले आलोचना गरेपनि ग्रामिण क्षेत्रमा उनीहरुको पकड बलियो रहेको छ।