यूक्रेनमा राष्ट्रपतिय निर्वाचन हुंदै

  • 25 मे 2014
यूक्रेन चुनाव तस्वीर कपीराइट BBC World Service
Image caption पृथकतावादीहरुको बढ्ता प्रभाव रहेका केही पूर्वी क्षेत्रमा चुनाव हुन सकेको छैन

रुस समर्थक पृथकतावादीहरुको विद्रोह जारी रहंदै गर्दा आईतबार यूक्रेनमा राष्ट्रपति पदका निम्ति निर्वाचन हुंदैछ।

तर पृथकतावादीहरुको प्रभाव रहेका कतिपय पूर्वी क्षेत्रहरुमा मतदान हुन सकेन।

खासगरी दोनेत्स्क शहरमा केही मतदान केन्द्रहरुलाई हतियारधारी पृथकतावादीहरुले कब्जामा लिएका छन्।

अर्को पूर्वी शहर लुहान्स्कमापनि पृथकतावादीहरुले मतदान हुन दिएका छैनन्।

बीबीसी सम्वाददाता भन्छन् यी घटनाले कियभका अधिकारीहरुलाई चिन्तित बनाउनेछ।

किनकि उनीहरु यूक्रेनका भावी राष्ट्रपतिले पूर्वी क्षेत्रमा पनि वैधता जित्न सकुन् भन्ने चाहन्छन्।

पृथकतावादीहरुको बढ्ता प्रभाव रहेको दोनेत्स्क शहरमा रहेका बीबीसी सम्वाददाता मार्क लोवेनका अनुसार त्यहाँका सबै पाँच जिल्ला निर्वाचन कार्यालय बन्द छन्। ती मध्ये केही रुस समर्थक हतियारधारी पृथकतावादी विद्रोहीहरुले कब्जामा लिएका छन् भने केहीमा निर्वाचन अधिकारीहरुलाई तर्साइएका अनि मतदाता सूची खोसिएका उनले बताए।

सर्वेक्षण

अन्यत्र भने मतदान भइरहेको जनाइएको छ।

पहिलो चरणमा १८ जना उम्मेदवारहरु खडा छन्। कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत ल्याउन सकेनन् भने दुई सातापछि दोस्रो चरणको निर्वाचन गरिनुपर्ने हुन्छ।

जनमत सर्वेक्षणहरुका अनुसार चकलेट किंगको उपमा पाएका एक व्यापारी पेट्रो पोरोशेन्को अघि रहेका छन्। उनको पछिपछि पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्को रहेको सर्वेक्षणहरुले देखाएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार एक अनपेक्षित टिप्पणी गर्दै आफुले यूक्रेनको निर्वाचन परिणामलाई सम्मान गर्ने बताएका थिए।

उनले जसले जितेपनि नयाँ राष्ट्रपतिसंग मिलेर काम गर्न रुस तयार रहेको बताएका थिए।

कियभ तथा पश्चिमा मुलुकहरुले रुसमाथि पृथकतावादी भावना भड्काएको आरोप लगाउंदै आएका छन्।