प्रधानमन्त्री कोइराला दिल्ली प्रस्थान

  • 26 मे 2014
सपथस्थल तस्वीर कपीराइट AP
Image caption भारतीय प्रधानमन्त्रीको सपथ समारोहमा सार्क राष्ट्रका सरकार वा राष्ट्रप्रमुखलाई निम्त्याइएको छ

प्रधानमन्त्री सुशील कोइराला भारतको प्रधानमन्त्री पदमा निर्वाचित नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन दिल्ली गएका गरेका छन्।

हिन्दू राष्ट्रवादी दल भनिने भारतीय जनता पार्टीका मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सार्क राष्ट्रका सरकार प्रमुख वा राष्ट्र प्रमुखहरुलाई निम्तो दिएका थिए।

प्रधानमन्त्री कोइरालाको भम्रण दलमा भौतिक योजनामन्त्री विमलेन्द्र निधि, पार्टीका तर्फबाट नेतृ सुजाता कोइराला र शशांङ्क कोइराला र सल्लाहकार समुहका सदस्यहरु छन्।

विकाश

बिहान झन्डै पौने नौ बजे सिमसिम पानी पर्दा सरकारी निवास बालुवाटारबाट विशेष सवारी सहित कोइराला विमानस्थलतर्फ लागेका थिए।

सवारीको समयमा कडा सुरक्षा व्यवस्था मिलाएको प्रहरीले विमानस्थलन जान उनले प्रयोग गरेको बाटोमा केही समय अन्य सवारी साधन गुड्न बन्देज लगाएको थियो।

मोदीले प्रधानमन्त्रीको हैसियतमा कोइरालासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

दिल्ली गएका प्रधानमन्त्री सुशील कोइरालालाई भारतका नयाँ सरकार प्रमुखसँग सम्बन्ध निर्माण गर्न परराष्ट्र मामिलाका विज्ञहरुले सुझाव दिएका छन्।

भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बरालले छलफलमा विकासका कुरालाई प्राथमिकता दिनु पर्ने बताउँछन्।

सम्बन्ध विस्तार

उनले भने, “मोदी विकासमा बढि केन्द्रित भएको हुनाले विकासकै कुरा उठाउँदा राम्रो हुन्छ, युपी र विहारमा उहाँको बढि ध्यान होला, त्यस कारण हामीलाई फाइदै हुन्छ भनेर यस्ता कुराहरु गर्नु राम्रै हुन्छ।”

हालको भेटघाटले भविष्यमा दुई देशबीचको सम्बन्धमा प्रतिकात्मक अर्थ राख्ने हुनाले दुई प्रधानमन्त्रीबीचको सम्बन्ध सुधारमा बढी ध्यान केन्द्रित गर्नु पर्ने अर्का परराष्ट्रविद रमेशनाथ पाण्डेको भनाई छ।

द्वीपक्षिय छलफलमा एक अर्काको प्रस्तुतीले कुटनीतिमा दुरगामी असर पर्ने हुनाले प्रभावकारी र प्रस्तुतीका लागि तयारी गर्नु पर्ने उनले बताए।

उनले भने, “हाम्रा प्रधानमन्त्रीले ‘पर्सनल केमेस्ट्री’ बनाउन सक्नुभयो भने सार पुर्ण हुन्छ, अनि भविष्यमा हुने सहमति, सम्झौताहरुलाई अगाडि बढाउन सकिन्छ, भारतका प्रधानमन्त्रीले थाहा पाउनु पर्यो, नेपालका प्रधानमन्त्रीको वैचारिक पक्ष के छ, कसरी सोंच्छ, कसरी प्रस्तुत गर्छ भनेर। त्यहाँको प्रधानमन्त्रीसँग वैचारिक सामिप्य कसरी खोज्ने? त्यो सोचाई राख्नु पर्छ।”

खासगरी पछिल्ला वर्षहरुमा नेपालका नेताहरुको भारतीय समकक्षीहरुसंगको राजनीतिक स्तरमा सम्बन्ध विस्तार हुन नसकेको भनी चर्चा चल्दै गर्दा यसपटकको भ्रमणलाई त्यस्तो सम्बन्ध विस्तारमा प्रयोग गरिनुपर्ने कतिपय परराष्ट्र मामिला विदहरुको सुझाव छ।