मोदीद्वारा भारतीय प्रधानमन्त्री पदको सपथ ग्रहण

  • 26 मे 2014
नरेन्द्र मोदी तस्वीर कपीराइट Doordarshan
Image caption हालैको चुनावमा मोदीको नेतृत्वमा बीजेपीले विगत ३० वर्षकै ठूलो जित हासिल गरेको थियो

भारतीय जनता पार्टी बीजेपीका नेता नरेन्द्र मोदीले दिल्लीमा करीब चार हजार स्वदेशी तथा विदेशी पाहुनाहरुको उपस्थितिमा प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए।

बाँगलादेश बाहेक अन्य दक्षिण एसियाली मुलुकहरुका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु पनि समारोहमा उपस्थित थिए।

हालैको आम चुनावमा मोदीको नेतृत्वमा बीजेपीले विपक्षी कंग्रेसलाई हराउँदै विगत ३० वर्षकै ठूलो जित हासिल गरेको थियो।

बीजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी, भूतपूर्व प्रधानमन्त्री मनमोहन सिंह, कंग्रेस पार्टीकी प्रमुख सोनिया गान्धी र उनका छोरा राहुल गान्धी, भारतीय चलचित्र उद्योगका कैयौं अभिनेता, प्रमुख उद्योगपतिको उपस्थितीकाबीच नरेन्द्र मोदीले भारतको १५औं प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन्।

उनले भने, “म नरेन्द्र दामोदारदास मोदी इश्वरको सपथ लिन्छु कि म विधिद्वारा स्थापित भारतको संविधानप्रति साँचो श्रध्दा तथा निष्ठा राख्ने छु।”

“म भारतको प्रभुता र अखण्डतालाई अक्षुण्ण राख्ने छु; म संघको प्रधानमन्त्रीको रुपमा आफ्नो कर्तव्यहरुको श्रध्दापूर्वक तथा शुध्द अन्त:करणबाट निर्वाह गर्नेछु।”

मन्त्रिपरिषद्

मोदीसंगै वरिष्ठ बीजेपी नेताहरु राजनाथ सिंह, अरुण जेट्ली, सुष्मा स्वराज लगायत २० जना भन्दा बढी नेताहरुले मन्त्री पदको सपथ लिएका थिए।

सोही समारोहमा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरु र मरिससका नेताहरु पनि उपस्थित थिए।

तर धेरैको ध्यान पाकिस्तानका प्रधानमन्त्री शरीफतर्फ केन्द्रित भएको छ।

शरीफ र मोदीबीच मंगलबार द्वीपक्षीय वार्ता हुने अपेक्षा गरिएको छ।

परमाणु हतियारयुक्त भारत र पाकिस्तानबीच गत ६० वर्षमा तीन पटक युध्द भइसकेको छ र मोदीको पार्टी बीजेपीले पाकिस्तानविरुद्ध कडा अडान राख्दै आएको छ।

हालैको जित पछि अब बीजेपीले कुनै सात्ता साझेदार विना नै सरकार हाँक्न पाउने छ।

पूर्ण बहुमत पाउनको लागि २७२ सीट आवश्यक पर्दछ।

विपक्षी कंग्रेसले ५४३ मध्ये ४४ सीट मात्रै ल्याएर लज्जास्पद परिणाम हासिल गरेको थियो।