युरोपेली संघको सुधारमा जोड

  • 27 मे 2014
तस्वीर कपीराइट na
Image caption जर्मनीमा राष्ट्रपति एंङ्गेला मर्केलको दलले ३५ प्रतिशत मत ल्याएको छ

युरोपेली संघप्रति आलोचनात्मक दृष्टिकोण राख्ने र अति दक्षिणपन्थी दलहरुप्रतिको समर्थन बढेपछि युरोपका नेताहरुले युरोपेली संघ (इयु) को सुधारमा जोड दिएका छन्।

अघिल्लो हप्ता युरोपेली संसदको लागि भएको चुनावमा अति दक्षिणपन्थी दलबाट आफ्नो पार्टी पराजित भएपछि फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओँलादले इयुले आफूलाई परिमार्जन गर्दै थप शक्ति आर्जन गर्नुपर्ने बताएका छन्।

जर्मन चान्सलर एङ्गेला मर्कल र बृटेनका प्रधानमन्त्री डेविड क्यामरुनले पनि इयुले रोजगारी श्रृजना लगायतका मुद्दामा आफूलाई केन्द्रित गर्नुपर्ने बताएका छन्।

सुधार

फ्रान्समा राष्ट्रपति ओँलादको सोसियलिष्ट पार्टीलाई तेश्रो स्थानमा राख्दै प्रारम्भिक अनुमानमा २५ प्रतिशत भोट ल्याएको अति दक्षिणपन्थी दल न्याश्नल फ्रन्ट बिजयी भएको छ।

फ्रेन्च टिभीमा बोल्दै युरोपेली संघको प्रमुख समर्थक मध्ये एक रहेका ओँलादले अब सुधार गर्नुपर्ने समय आएको बताए।

उनले भने, “ युरोप अब सीधा स्पष्ट र प्रभावकारी हुनु जरुरी छ र नचाहिने ठाउँबाट हात झिकिनुपर्छ।”

मंगलबार हुने युरोपेली संघका नेताहरुको बैठकमा अबको प्राथमिक्ता आर्थिक बृद्धि, रोजगारी र लगानी हुनुपर्ने कुरा आफूले राख्ने ओँलादले बताए।

जर्मन राष्ट्रपति एंङ्गेला मर्केलको पुरातनपन्थी दल क्रिश्चियन डेमोक्रेटिक पार्टीले देशभित्र सहजै रुपमा ३५ प्रतिशत भोट ल्याएको छ।

मोर्केलले स्थापित दलहरुले पुन मतदाताहरुको समर्थन जित्न प्रतिष्पर्धा वृद्धि र रोजगारीमा जोड दिनुपर्ने बताइन्।

बहुमत

हालसम्मको मत परिणामलाई हेर्दा युरोपेली संघ पक्षधर दलहरु बहुमत ल्याउने दिशा उन्मुख रहेको देखिएको छ।

तर उनीहरुले युरोपेली संघको शक्ति घटाउनुपर्ने वा संघलाई नै उन्मुलन गर्नुपर्ने धारणा राख्ने दलहरुसँग कयौं सिट गुमाएका छन्।

त्यस्तै धारणा राख्ने मध्येको एक इन्डिपेन्डेन्स पार्टीले बृटेनमा २७ प्रतिशत मत ल्याउदैँ आफूलाई पहिलो दलको रुपमा उभ्यायो।

ब्रिटेनका प्रभानमन्त्री क्यामरुनको कन्जरभेटीभ पार्टीले यस पटक सातवटा सिट गुमाएको छ।

उनले युरोपप्रति मतदाताहरुको गम्भीर रुपमा मोह भंग भएको र त्यो सन्देश सबैले ग्रहण र आत्मासाथ गरेको बताए।