नेपाललाई थप सहयोग गर्न चाहन्छौं : मोदी

  • 27 मे 2014
तस्वीर कपीराइट bbc
Image caption प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई दिँदै आएको नियमित सहयोगमा अरु थप गर्न आफू ईच्छुक रहेको बताएका छन्।

प्रधानमन्त्री सुशील कोइरालासँग भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका एक जना नेता डा. शशांक कोइरालाले मोदीले निर्धारित समयभित्रै नेपालमा नयाँ संविधान बनेको देख्न चाहेको पनि बताए।

नेपाल भ्रमणका लागि कोइरालाले दिएको निम्तोबारे भने मोदीले पछि जानकारी गराउने बताएको डा. कोइरालाले बीबीसीलाई बताए।

मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन सोमबार नयाँ दिल्ली पुगेका कोइरालाले भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसमा उनीसँग मंगलबार भेटवार्ता गरेका हुन्।

विकास

गुजरातमा मुख्यमन्त्री रहेका बेला विकासवादी छबि बनाएका मोदीले अपार जलसम्पदा रहेको नेपाल जलविद्युत विकासमा केन्द्रित हुँदा विकासको गति तीव्र हुने धारणा राखेको प्रधानमन्त्री कोइरालासँगै भेटवार्तामा सहभागी डा. कोइरालाले बताए।

नेपाललाई भारतले गर्ने सहयोगका सम्बन्धमा मोदीको भनाई उद्धृत गर्दै डा. कोइरालाले भने, ''मोदीजीले भन्नुभयो, हाम्रो जुन सहयोग नेपाललाई छ, त्यसलाई निरन्तरता दिने मात्र होईन, त्यसमा हामी थप गर्न चाहन्छौं। हाम्रो ठूलो मुलुक भएको हुनाले हाम्रो यो कर्तव्य हो।''

मंगलबार पदभार सम्हालेका मोदीले कोइरालासँगको भेटवार्ताका क्रममा पहिलो जिज्ञासा नेपालको संविधान निर्माणबारे राख्दै त्यसलाई छिट्टै निष्कर्षमा पुर्याउँदा राम्रो हुने धारणा राखेका थिए।

संविधान

डा. कोइरालाले भने, ''संविधान निर्माणको बारेमा उहाँले सोध्नुभयो र भन्नुभयो कि तपाईंहरुले छिटोभन्दा छिटो संविधान बनाउनुहोस् र लोकतन्त्रलाई सुदृढ बनाउनुहोस्। त्यसले स्थिरता पनि आउँछ र विकास पनि हुन्छ।''

भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपालमा संविधान निर्माण र विकासका बारेमा मोदीसँग छलफल गरेका थिए।

डा. कोइरालाका अनुसार आउँदो नोभेम्बरमा काठमाण्डूमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सम्मेलनमा सहभागी हुनुअघि नेपाल भ्रमणमा आउन प्रधानमन्त्री कोइरालाले दिएको निम्तोबारे मोदीले संभाव्यता हेरेर पछि खबर गर्ने बताएका थिए।

१३ सदस्यीय प्रतिनिधमण्डलसहित दिल्ली पुगेका प्रधानमन्त्री कोइराला बुधबार स्वदेश फर्कदैछन्।