पाकिस्तानी तालिबानबाट एउटा गुट अलग

  • 28 मे 2014
बम हमला तस्वीर कपीराइट AP
Image caption पाकिस्तानी तालिबानले गरेका हमलामा कैयौंको ज्यान गएको छ

पाकिस्तानी तालिबानको एउटा घटकका कमाण्डरले भनेका छन्, उनको समूह उग्रवादी छाता संगठनबाट अलग भएको छ।

प्रतिबन्धित तहरिके तालिबान पाकिस्तानको महसुद गुटका प्रवक्ता आजम तारिकले उनको समूह केन्द्रिय संगठनबाट औपचारिकरुपमा अलग भएको बताए।

उनले भने, उनको समूह वार्ताको पक्षमा छ, तर तालिबान नेतृत्व सरकारविरुद्धका हमला जारी राख्‍न चाहन्छ।

शान्ति वार्ता

दक्षिण वज‌िरिस्तानको जनजातीय इलाकामा संवाददाताहरुसंग कुरा गर्दै आजम तारिकले भने, पाकिस्तान सरकारसंग जारी शान्ति वार्ताका विषयमा मतभिन्नताहरु भएपछि उनीहरुले केन्द्रिय संगठन छाडने निर्णय गरेका हुन्।

उनले भने, उनको समूह वार्ताको पक्षमा छ, तर तालिबान नेतृत्व सरकारविरुद्धका हमला जारी राख्‍न चाहन्छ।

हाम्रा संवाददाता शाहजेव जिलानी भन्छन्, “दक्षिणी वजिरिस्तानका महसुद जनजातीय समूहका सदस्यहरु यो समूहको आधार थिए। गत नोभेम्बरसम्म नेतृत्व उनीहरुकै हातमा थियो। तर एउटा अमेरिकी ड्रोन हमलामा तालिवानका वरिष्ठ नेता मारिएपछि स्थिति बदलियो।“

त्यसपछि पहिलोपटक उक्त समूहको नेतृत्व महसुद समुदायभन्दा बाहिर स्वात उपत्यकाका मुल्ला फजलुल्लामा गयो।

त्यसयता नै प्रतिद्वन्द्वी गुटहरुबचि भीडन्तहरु भैरहेका समाचारहरु आएका थिए।

धक्का

हाम्रा संवाददाताका अनुसार यो विभाजन तहरिके तालिबानकालागि एक ठूलो धक्काको रुपमा हेरिएको छ।

गएको सातवर्षदेखि उक्त संगठनले पाकिस्तानमा ठूल्ठूला हमलाहरु गर्दै आएको थियो।

प्रवक्ता तारिकले तहरिके तालिबानको अहिलेको नेतृत्व फिरौतीकालागि अपहरण तथा डकैती गर्ने एउटा आपराधिक समूह बन्दैगएको आरोप पनि लगाए।

उनले त्यस्तो गतिविधि इस्लाम धर्म विरोधी भएको पनि बताए।

गत फेब्रुअरी महिनामा पाकिस्तान सरकार तथा तहरिके तालिबानका प्रतिनिधिहरुबीच शान्ति वार्ता शुरु भएका थिए।

घोषणा

तर एकमहिना पछि नै तहरिके तालिबानले सरकारले आफ्ना मागहरु पुरा नभएको भन्दै वार्ता एकतर्फीरुपमा भङ्ग गरिएको घोषणा गरेको थियो।

पाकिस्तान सरकारले चाहिं उ तहरिके तालिबानसंग वार्ता गर्न अझै इच्छुक रहेको बताउँदै आ‌एको छ।

रोयटर्स समाचारसंस्थाका अनुसार अफगानिस्तान तथा पाकिस्तानस्थित तालिबान कमाण्डरहरुले पछिल्लो विभाजनबारे छलफल गर्न नेतृत्व परिषको एउटा बैठक बोलाएका छन्।

तर त्यस्तो बैठक प्रतिद्वन्द्वी गुटहरुबीच एकता कायम गर्न सफल हुनेमा आशँका व्यक्त गरिएको छ।