‘गणतन्त्र सम्झिँदा बिर्सियो सगरमाथा’

  • 29 मे 2014
सगरमाथा तस्वीर कपीराइट AP
Image caption सरकारले यसअघि गणतन्त्र र सगरमाथा दिवस जुधे पनि दुबै एकै दिन मनाउने गर्थ्यो

सरकारले गणतन्त्र दिवससंगै जुधेको भन्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवस नमानाएको भन्दै पर्वतारोहण व्यवसायीहरुले दुख प्रकट गरेका छन्।

विगतमा गणतन्त्र दिवससंगै जुध्दापनि सगरमाथा दिवस मनाउने गरिएको थियो।

६१ वर्ष अगाडि आजकै दिन सर एडमण्ड हिलारी तथा तेन्जिङ्ग नोर्गे शेर्पाले सगरमाथाको चुचुरोमा पहिलो पाईला टेकेको स्मरणमा मनाउन थालिएको सगरमाथा दिवस यस वर्ष अन्य कुनै दिन मनाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

चित्त

त्यसप्रति पर्वतारोहण व्यवसायीहरुको पटक्कै चित्त बुझेको छैन।

उनीहरुले ६१ वर्ष अगाडिको आरोहण दलमा संलग्न एकमात्र जीवित आरोही कान्छा शेर्पालाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेका छन्।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले भने, “सन् १९५३ मा हिलारी र तेन्जिङ्गसँगै सबैभन्दा उच्च विन्दूसम्म पुग्ने एक मात्र जीवित कान्छा शेर्पा नाम्चेबाट काठमाण्डौं आइपुग्नु भएको हो।”

गत वैशाख ५ गते सगरमाथा आधार शिविर नजिकै गएको हिमपहिरोमा परी १६ जना शेर्पा आरोहण सहयोगीहरुको ज्यान गएका कारण यसपाली एकजना चिनियाँ युवतीको टोलीले बाहेक हालसम्म कसैले सगरमाथा चढेका छैनन्।

ओझेल

तर त्यो पीडाका कारण नभई राजनीतिक रुपमा भ्याई नभ्याई परेकाले सगरमाथा दिवस मनाउने सरकारी कार्यक्रम पर सारिएको सरकारको भनाई छ।

मन्त्रालयका पर्यटन उद्योग महाशाखाका प्रमुख मधुसुदन बुर्लाकोटी भन्छन्, “राष्ट्रिय महत्वको दिवसको बेला सरकारका सम्बन्धित व्यक्तिहरु सबै गणतन्त्र दिवसमा सहभागी हुनुपर्छ र त्यो दिनभर लाग्ने भएकाले गणतन्त्र दिवसलाई ‌ओझेलमा नपार्न सगरमाथा दिवस सारिएको हो।”

तर पोहोरमात्रै पनि सरकारले गणतन्त्र दिवससंगै जुध्दा सगरमाथा आरोहणको हिरक जयन्ती समारोह भव्यतासाथ मनाएको थियो।