युक्रेनमा सैनिक हेलिकप्टरमाथि आक्रमण

  • 29 मे 2014
तस्वीर कपीराइट Arkady Babchenko
Image caption सैनिक लिएर उडेको केही बेरपछि युक्रेनी हेलिकप्टरलाई विद्रोहीले गोली हानी खसाएको बताइएको छ।

पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी लडाकुहरुले गोली हानी सेनाको एउटा हेलिकप्टर खसाउँदा एक जनरलसहित कम्तीमा १४ जना सैनिकहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

उक्त हेलिकप्टरले विद्रोहीहरुको नियन्त्रणमा रहेको स्लोभियान्स्क शहर नजिकै रहेको सेनाको अखडामा सैनिकहरु लगिरहेका बेला बन्दुकधारीहरुले गोली हानेका थिए।

बीबीसीका एक जना संवाददाता भन्छन्, महिनाभित्र नभई केही घण्टाभित्रै पृथकतावादीहरुलाई पराजय गर्ने वाचा गरेका नवनिर्वाचित राष्ट्रपति पेत्रो पोरोशेन्कोका लागि ती घटनाहरु दबाबका जनाउघण्टी हुन्।

घटनाको राष्ट्रपति ओलेक्सेन्डर टुर्चिनोभले पुष्टि गरेका छन्।

क्षेप्यास्त्र

उनले भने, ''मैलै भर्खरै स्लोभियान्स्कबाट रिपोर्ट पाएको छु कि आतंकवादीहरुले रुसमा निर्मित हतियार र क्षेप्यास्त्र प्रयोग गरी सेना बोकेको हेलिकप्टर खसाइदिएका छन्। एक जना जनरलसहित १४ जना मारिएका छन्।''

सरकारी सेना र विद्रोही लडाकुहरुबीच स्लोभियान्स्कमा पछिल्ला साताहरुमा भीषण भीडन्त भईरहेका छन्।

हालै निर्वाचित राष्ट्रपति पेत्रो पोरोशेन्कोले पूर्वी क्षेत्रमा, उनकै शब्दमा, डाकाहरुलाई पराजित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

बीबीसीका मार्क लोवेनले बिहिबारको घटना युक्रेनी सेनाका लागि ठूलो धक्का भएको बताए।

स्लोभियान्स्क र क्रामातोर्स्कमा भीषण भीडन्तका क्रममा विद्रोहीहरुले उक्त हेलिकप्टर खसालीदिएका थिए।

हेलिकप्टर

यसअघि गत साता सैनिक जाँच चौकीमा विद्रोही लडाकुहरुले गरेको आक्रमणमा १४ जना सैनिकहरुको ज्यान गएको थियो।

यसै महिनाको शुरुतिर स्लोभियान्स्क नजिकै विद्रोही लडाकुहरुले गोली हानी सेनाका दुई वटा हेलिकप्टर खसाएका थिए।

उक्त घटनामा चालक र अर्का एक जना मारिएका थिए।

पछिल्ला दिनहरुमा हिंसा चर्केको बताइएको छ।

विद्रोहीहरुले सोमबार दोनेस्क विमानस्थल कब्जामा लिने क्रममा सय जना लडाकुहरु मारिएको बताएका छन्।