नयाँ संविधानमा न्यायपालिकाबारे बार छलफलमा

  • 30 मे 2014
Image caption बार एसोसियसनले आफ्नो सुझाव संविधानसभा अध्यक्षलाई बुझाउने जनाएको छ।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिलाई लिएर न्यायपालिका र व्यवस्थपिकाबीच विवाद चुलिएको समयमा नेपाल बार एसोसियसनले न्यायपालिकाको भावि स्वरुपबारे संविधानसभालाई सुझाव दिने भएको छ।

बिहीबारदेखी तीन दिनसम्म नयाँ संविधानका विवादित विषयमा छलफल चलाइरहेको बरले त्यसबाट आउने निष्कर्ष सहितको सुझाव संविधानसभाका अध्यक्षलाई बुझाउने जनाएको छ।

संवैधानिक सम्मेलन नाम दिइएको सो कार्यक्रमले संविधान लेखनको प्रकृयामा संविधानसभालाई सघाउने उद्देश्य राखेको छ।

कार्यपत्र

सम्मेलनमा २९ जना कानुन व्यवसायीले पहिलो संविधानसभामा विवादित देखिएका राज्यपुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत गर्दैछन्।

तर कानुन व्यवसायीहरुको छलफलमा विशेषगरि न्यायपालिकाको विषयले प्राथमिकता पाउने महासचिव सुनिलकुमार पोखरेलले बताए।

उनले भने, “न्यायपालिकाको प्रमुख नै कार्यपालिकाको प्रमुख भएको विगतको तितो अनुभव छ, ती सबै कुरालाई व्यवस्थित गर्न र न्यायपालिकालाई पूर्णरुपमा स्वतन्त्र बनाउन र कहिँ न कहिँ न्यायपालिकालाई पनि जनताप्रति जवाफदेही बनाउनु पर्छ भन्ने विषयमा छलफल गर्छौं।”

संविधान लेखनलाई सघाउ पुर्याउने गरि यसअघि २०४७ सालको संविधान लेखनका क्रममा बारले यसैगरि छलफल चलाएर प्रतिवेदन पेश गरेको थियो।

तीन दिनसम्म प्रस्तुत भएका कार्यपत्रमाथि छलफल र पूर्व सभासदद्वारा टिप्पणी भएपछि सुझाव प्रतिवेदन तयार गरेर सभामुखलाई बुझाउने कार्यक्रम रहेको सचिव पोखरेलले बताए।

टक्कर

सम्मेलनले खासगरी संविधानसभा बाहिररहेको मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको राय-सुझाव समेत समेटेर उक्त प्रतिवेदनमा उल्लेख गर्ने बताइएको छ।

तर बारले दिने उक्त सुझाव प्रतिवेदन संविधानसभाका लागि बाध्यकारी हुनेछैन।

हालै संसदीय सुनवाई मार्फत न्यायाधीशहरुको नियुक्ती गर्दा संसदीय समिति र न्यायपालिकाबीच प्रत्यक्ष टकराव देखिएको थियो।

संसदीय सुनवाई बिशेष समितिले प्रस्तावित न्यायाधीशहरु छनौट गर्दा अपनाइएको मापदण्डबारे बुझ्न बोलाउँदा न्यायपरिषदका पादाधिकारीहरुले शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने भन्दै समिति समक्ष उपस्थित हुन अस्वीकार गरेका थिए।

त्यसपछि मतविभाजन मार्फत आठजना न्यायाधीशहरुको नियुक्तिको सिफारीस सुनवाइ समितिले अनुमोदन गरेको थियो।