अमेरिकी रक्षा मन्त्रीको चीनमाथि आरोप

  • 31 मे 2014
पानी जहाज
Image caption चीनको दक्षिण चीन सागरमा विभिन्न मुलुकहरुसंग भूभागसंबन्धी विवाद चलिरहेको छ

अमेरिकी रक्षा मन्त्री चक हेइगलले चीनमाथि भूमिसंबन्धी दावीका क्रममा दक्षिण चीन सागरलाई अस्थिर तुल्याएको आरोप लगाएका छन्।

सिंगापुरमा सुरक्षासंबन्धी एउटा सम्मेलनलाई संबोधन गर्दै हेगलले भने, कुनैपनि किसिमको धाकधम्की, दबाब र बल प्रयोगको चेतावनीको अमेरिका विरोध गर्दछ र उसले देखेको नदेखझैं गर्नेछैन।

संमेलनमा भाग लिइरहेका एकजना वरिष्ठ चिनियाँ सैनिक अधिकारी वाङ ग्वाङझोङले रक्षा मन्त्री हेइगलले लगाएका आरोपहरु आधारहीन भएको बताए।

सम्मेलन

'साङग्रिला संवाद' नाम दिइएको तीन दिने सम्मेलनलाई संबोधन गर्दै अमेरिकी रक्षा मन्त्री चक हेइगलले यदि अन्तर्राष्ट्रिय नियमहरुको उल्लँघन गरियो भने अमेरिका चुप लागेर नबस्ने बताए।

उनले भने, "हामी ठूला वा साना कुनै पनि मुलुकले सैनिक वा गैरसैनिक जहाजहरु परिचालन गरी समुद्रमा स्वतन्त्र आवतजावत गर्न पाउने हक सीमित गर्ने कुनै पनि प्रयासको विरोध गर्दछौं। अन्तर्राष्ट्रिय व्यवस्थाका आधारभूत सिद्धान्तहरुलाई चुनौती दिइयो भने संयुक्त राज्य अमेरिकाले देखेको नदेखेझैं गर्नेछैन।"

चीनको जापान, भियतनाम तथा फिलिपिन्ससंग भूभागसंबन्धी विवाद चलिरहेका बेला यो सम्मेलन भैरहेको छ।

चीन र जापानको पूर्वी चीन सागरस्थित टापुहरुबारे पनि विवाद छ।

आरोप

आफ्नो संबोधनमा रक्षा मन्त्री हेइगलले दक्षिण चीन सागरमा आफ्नो दावीको क्रममा अस्थिरता बढाउने खालको एकपक्षीय कारवाही गरिरहेको आरोप लगाए।

नले भने, चीनको त्यस्तो कामले त्यसक्षेत्रको दीर्घकालिन प्रगतिमाथि खतरा उत्पन्न गरेको छ।

रक्षा मन्त्री हेइगलले क्षेत्रीय सुरक्षामा बृहत् र सकृय भूमिका निर्वाह गर्ने जापानको प्रस्तावको पनि समर्थन गरे।

शुक्रबार विदेश नीतिसंबन्धी एउटा महत्वपूर्ण संबोधनमा जापानी प्रधानमन्त्री शिन्जो आबेले त्यस्तो धारणा राखेका थिए।

हालै चीनले दक्षिण चीन सागरमा विवादित प्रायद्विपहरुबारे कडा रवैया अपनाएपछि र पूर्वी चीन सागरमा हवाइ प्रतिरक्षा क्षेत्र घोषणा गरेपछि तनाव बढिरहेको छ।

सोही संमेलनमा भाग लिइरहेका एकजना वरिष्ठ चिनियाँ सैनिक अधिकारी वाङ ग्वाङझोङले हेइगलले लगाएका आरोपहरुको खण्डन गरे।

उनले ती भनाइहरु आधारहीन भएको पनि बताए।

संबन्ध

कतिपय मुलुकहरु चीनसंगको राजनीतिक तथा आर्थिक संबन्धका कारण पनि उसलाई ठाडै चिढाउन चाहँदैनन्।

बीबीसीका एसिया विश्लेषक माइकेल ब्रिस्टो भन्छन्, अमेरिकी रक्षा मन्त्रीका यी भनाइहरु निकै कडा हुन्।

उनी भन्छन्, दक्षिण चीन सागरका विभिन्न भागमा कतिपय मुलुकहरुले दावी गर्दै आएका छन् तर हेइगलले चीनमाथि मात्रै दोष थोपरेका छन्।

विश्लेषकहरु भन्छन्, चीनले त्यस क्षेत्रमा आफ्नो र आफ्ना सहयोगीहरुको हित रक्षा गर्न अमेरिका कति दृढ छ भन्ने परीक्षा लिन खोजेको जस्तो देखिन्छ।

तर चीनमाथि दबाब बढाउन अमेरिकाले के गर्ला र कुन स्थितिमा, कस्तो प्रतिकृया जनाउला भन्ने चाहिं स्पष्ट छैन।