स्काउटको 'भ्रष्टाचार' छानविन गर्न समिति

  • 31 मे 2014
Image caption नेपाल स्काउटमा भ्रष्टाचार रोक्न भन्दै विरोधमा स्काउट शिक्षक गुणराज प्याकुरेल आमरण अनशन बसेका छन्

नेपाल स्काउटमाथि लागेको भ्रष्टाचार आरोप छानविन गर्न सरकारले समिति गठन गरेको छ।

नेपाल स्काउटका प्रमुख आयुक्तले भ्रष्टाचार गरेर संस्था धराशायी बनाएको भन्दै शुरु गरिएको अनशन तीन साता पुग्न लाग्दा सरकारले यस्तो निर्णय गरेको हो।

श्रीराम पौडेल एक दशक भन्दा अघिदेखि स्काउटका प्रमुख आयुक्त छन्।

आयुक्त पौडेलको राजीनामाको माग राख्दै काठमाण्डुको लैनचौर स्थित नेपाल स्काउटको भवनमै आमरण अनशन बसेका स्काउट शिक्षक गुणराज प्याकुरेलको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि नाडीबाट स्लाइन पानी दिन थालिएको छ।

अनशन

लुइटेलले आफ्नो माग पुरा नहुन्जेल अनशन जारी राख्ने बताएका छन्।

शारिरीक, वौद्धिक, सामाजिक तथा अध्यात्मिक विकासको लागि भन्दै ६२ वर्षअघि स्काउट स्थापना भएको हो।

नेपाल स्काउटमा पचास हजार भन्दा बढी विद्यार्थी तथा युवाहरु आबद्ध छन्।

सो संस्थामा करौडौं रुपियांको भ्रष्टाचार भएको, एउटै व्यक्तिले झण्डै डेढ दशकदेखि प्रमुख आयुक्त भएर भ्रष्टाचारलाई बढावा दिएको र स्काउट सम्बन्धी ऐन पनि पुरानो भएकोले यिनमा सुधारको माग गर्दै पटक पटक विगतमा पनि आन्दोलन भएका थिए।

खण्डन

तर प्रमुख आयुक्त लामिछानेले आफुमाथि लागेको आरोपको खण्डन गरेका छन्।

उनी भन्छन्, "व्यक्तिगत रिसिवीको कारणले हो। मैले गरेका कुनै अपराधिक कामहरु छन् भने त्यो मलाई देखाइयोस्। म स्वत : सजायको भागी भईहाल्छु। आरोप लगाएको बेला राजिनामा गर्नु भनेको आत्मदाह गर्नु हो।”

त्यहाँ उठेको मागलाई सम्बोधन गर्न भ्रष्टाचार छानबिन समिति र नयाँ स्काउट ऐनको मस्यौदा समिति शुक्रबार गठन गरेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल भ्रष्टाचार पुष्टी भए प्रमुख आयुक्तलाई हटाउने बताउँछन्।

उनी भन्छन्, “परिस्थितिले कसरी माग गर्छ त्यो अनुसार राज्यले एउटा निर्णय त गर्नु पर्छ। अनुसन्धानले देखायो भने उहाँलाई हटाउने कुरा पनि असम्भव होइन।”

यसअघि नेपाल स्काउट, शिक्षा मन्त्रालय मातहत रहेकोमा हाल युवा तथा खेलकुद मन्त्रालयमा गाभिएकोप्रति पनि कतिपय आन्दोलनकारीहरुले आपत्ति जनाएका छन्।