'कांग्रेस एमाले असमझदारी समाधानतर्फ'

  • 1 जुन 2014
Image caption प्रतिपक्षीले शुक्रबार अवरुद्ध गराएको संविधान सभाको बैठक आइतबार पुन डाकिएको छ

प्रमुख प्रतिपक्षी दलको विरोधका कारण शुक्रबार स्थगित भएको संसदको बैठक आइतबार पुन डाकिएको छ।

सहमतिको प्रणाली अपनाउन दबाब दिंदै प्रतिपक्षी एकीकृत नेकपा माओवादीले संसद अवरोध गर्दै गर्दा सरकारभित्रकै प्रमुख साझेदार दलहरु माझ केही दिन यता बढेको असहमति भने समाधान भएको कांग्रेसका नेताहरुले बताएका छन्।

करीब दुई तिहाई संसद सदस्यहरुको समर्थन सहित गठन भएको चार महिना नपुग्दै सरकार हाँक्ने दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुमाझ बजेट निर्माण देखि सरकार सञ्चालनका विषयमा विवाद भएको थियो।

केही समय अघि देखि दुई दलका नेताहरुमाझ भित्रभित्रै झाँगिएको विवादको विषय एमालेको संसदीय दलको बैठकमा प्रष्टसंग देखिएको थियो।

आक्रोश

खासगरी बजेट निर्माणका क्रममा आफ्ना भनाईहरुको सुनुवाई नभएको भन्दै केही एमाले नेताहरुले आक्रोश व्यक्त गरेका थिए।

शीर्ष नेताहरुको तहमा आक्रोशनै झल्कने गरी विमति नदेखिएपनि समस्या झांगिनु अगाडिनै हल गर्नु पर्ने भन्दै शनिबार दुई दलका शीर्ष नेताहरुमाझ छलफल गरिएको थियो।

छलफलमा सहभागी उपप्रधानमन्त्री तथा कांग्रेस महामन्त्री प्रकाशमान सिंह भन्छन्,"अनावश्यक रुपमा उत्पन असमझदारी कम भएको छ। न्यूनतम साझा कार्यक्रमलाई आधार मानेर नीति र कार्यक्रम बनाएर सबै दलका प्रतिनिधि संलग्न गराएर अगाडि बढ्ने भन्ने भएको छ।"

यसअघि एमालेका नेताहरुले सरकारमा कांग्रेसको कार्यसञ्चालनको तरीकालाई लिएर दुई दलबीच विवाद रहेको बताएका थिए।

संवाद

त्यसको हल गर्न सम्वादलाई जारी राखिने उक्त पार्टिका सचिव विष्णु पौडेलले जनाएका थिए।

पौडेल भन्छन्, "असन्तुष्टि छ साथीहरुमाझ। खासगरी सरकारको गति साह्रै धिमा भयो र फराकिलो दृष्टिकोण राखिएन अनि गैर बजेटरी रकमहरुको प्रयोग भयो भन्ने गुनासाहरु पनि आएका छन्। तर हामी यी सबै गुनासाका समाधान सम्वादको माध्यमबाट गर्न चाहन्छौं।"

सत्ता सहयात्रीबीचको असमझदारी टुंगिए लगत्तै अब आफुहरुको ध्यान प्रतिपक्षीले बन्द गराएको सदन खुलाउन पट्टि लाग्ने उपप्रधानमन्त्री सिंहले बताएका छन्।