शेयर परिसुचक पाँच वर्षकै उच्च

  • 3 जुन 2014
तस्वीर कपीराइट stockexchange
Image caption नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुसँग झन्डै ९ खर्ब पुँजी रहेको ठानिन्छ

शेयर बजारमा थुप्रिएको पुँजीलाई पुर्वाधार निर्माणमा पुनर्लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्ने एक जना अर्थविदले बताएका छन्।

शेयर बजारको घटबढलाई संकेत गर्ने नेप्से परिसुचक पछिल्लो पाँच वर्ष यताकै उच्च बिन्दुमा पुगेपछि विज्ञको यस्तो भनाइ आएको हो।

हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत झण्डै अढाई सय कम्पनीहरुको कुल बजार पुँजीकरण करिब ९ खर्ब रुपैयाँ बराबरको छ।

रौनकता

केही वर्ष यता सुस्ताएको शेयरबजार पुन उकालो लाग्न सुरु गरेपछि पुँजी बजारमा पुन रौनकता बढेको यस क्षेत्रका जानकारहरुको भनाई छ।

शेयर बजार बढेमा नेप्से परिसुचक बढेको मानिन्छ। हिजो नेप्से परिसुचक आठ सय ८० अंकमा पुगेर पाँच वर्ष यताकै उच्च विन्दुमा पुगेको हो।

पछिल्लो आरोह अवरोहबारे शेयर बिश्लेषक रविन्द्र भट्टराई भन्छन्, “२०६५ भदौ १५ मा अहिले सम्मकै उच्च ११७५.३८ विन्दुमा पुगेको थियो, २०६८ असाढमा २९२ अंक सम्म झरेको हो, अहिलेको प्रवृत्तिलाई विश्लेषण गर्दा यो आर्थिक वर्षमा नौ सय अंकभन्दा माथि जाने सम्भावना छ। ”

राजनीतिमा स्थिरता आएको, आर्थिक बृद्धिदर अघिल्लो वर्षको भन्दा उच्च रहेको, बैंकले ब्याजदर घटाएकोले ऋण लिएर शेयरमा लगानी गर्ने प्रबृत्ति बढेको, कम्पनीहरुको नाफामा बृद्धि भएको लगायतका कारणले नेप्से परिसूचक बढेको जानकारहरुको भनाई छ।

तर सरकारले कम्पनीहरुको नाफामा असर पर्ने नीति लिएमा नेप्से परिसूचक पुन ओरालो लाग्ने उनीहरुको बताएका छन्।

लगानी

अर्थविद विश्वम्भर प्याकुरेल अहिलेको बृद्धिलाई बढि फलदायी बनाउन सरकारले पुँजी बजारमा थुप्रिएको पुँजीलाई पुर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्नु पर्ने बताउँछन्।

उनले भने, “शेयरमा सन्चित रकमलाई सरकारले अन्य प्राथमिकताका क्षेत्रमा पुनर्लगानी गरीदिनु पर्यो, त्यो गर्दा एउटै पुँजीले पनि दुई तीन ठाउँबाट प्रतिफल दिन सुरु गर्छ।”

तर विकसित मुलुकमा जस्तो नेपालमा, नेप्से परिसूचक बढ्दैमा देशको आर्थिक स्वास्थ्यमा सुधार भएको मान्न नसकिने कतिपय अर्थविदहरुको धारणा छ।