युरो क्षेत्रमा ऋणात्मक ब्याजदर

  • 5 जुन 2014
मारियो द्रागी तस्वीर कपीराइट AFP
Image caption युरोपेली केन्द्रीय बैंकका अध्यक्ष मारियो द्रागीले थप आवश्यक कदम चाल्न बैंक तयार रहेको बताएका छन्

युरोपेली केन्द्रीय बैंक, इसीबी, ले एकल साझा मुद्रा युरो चलनचल्तीमा रहेको क्षेत्रमा वस्तुहरुको मूल्यमा तीव्र गिरावट आउन नदिने प्रयास स्वरुप कर्जाको ब्याजदरमा कटौती गरेको छ।

उक्त बैंकको मुख्य ब्याजदरलाई अब शून्य दशमलब एक पांच पु-याइएको छ भने इसीबीले आफूकहां बैंकहरुले रातभर राख्‍ने बढी रकममा दिइने ब्याजको दरलाई शून्य भन्दा तल झारिएको छ।

यो युरो जोन भनिने एकल युरोपेली मुद्रा युरो प्रचलनमा रहेको क्षेत्रमा कायम रहेको कमजोरीको स्पष्ट संकेत हो।

असाधारण

ब्याजदर ऋणात्मक तुल्याउने कार्य वित्त क्षेत्रमा एकदमै असाधारण कदम हो।

यसबाट केन्द्रीय बैंकमा रातभर रकम मौज्दात राखेबापत बैंकहरुले पैसा पाउनुको साटो उल्टै तिर्नु पर्ने हुन्छ।

त्यस क्षेत्रमा मुद्रास्फितिको दर एकदमै न्यून रहेकोमा युरोपेली केन्द्रीय बैंक चिन्तित छ।

त्यहां मुद्रास्फिति शून्य दशमलव पांच प्रतिशत रहेको छ।

यो अवस्था झन विग्रेर मुद्रा संकुचन अर्थात उत्पादित बस्तु तथा सेवाहरुको मूल्य तीब्र गतिमा कम हुन जाने विषम अवस्थाको सिर्जना हुन नजाओस् भन्ने उक्त बैंकको उद्देश्य रहेको देखिएको छ।

जसका कारण पहिले नै कमजोर रहेको आर्थिक बृद्धिको स्थितिमा हुन सक्ने सुधारलाई नकारात्मक प्रभाव पार्न सक्छ।

थप कदम

युरोपेली केन्द्रीय बैंकका अध्यक्ष मारियो द्रागीले मूल्य संकुचनको अन्त्य भै मुद्रास्फितिको दर बढेन भने आफूहरु अझ थप कदम चाल्न तयार रहेको बताएका छन्।

उनले भने, “आवश्यक परेको खण्डमा हामी थप मौद्रिक नीतिहरुका साथ शीघ्र कदमहरु चाल्नेछौं।

"न्यून मुद्रास्फीतिको अवधि निकै लामो हुन जान सक्ने जोखिमलाई सम्बोधन गर्न जरुरी हुन गएमा हाम्रो प्रशासकीय परिषद आफ्नो म्यान्डेटभित्र रहेको सबै प्रचलित उपायहरु अपनाउन एकमतले प्रतिबद्ध रहेको छ।“

ऋणात्मक ब्याज दर रहेको अवस्थाले बैंकहरुलाई साविक भन्दा बढी कर्जा प्रवाह गर्न प्रेरित तुल्याउंछ र यसको परिणाम स्वरुप ब्यापार ब्यवसाय र घरेलु उपभोक्ताले बढी खर्च गर्न सक्ने वातावरण बन्न जान सक्छ।

यसबाट बस्तु तथा सेवाको मूल्यमा आउने संकुचन वा घाटा पुग्ने गरी मूल्य घट्ने अवस्था आउने सम्भावना टर्न सक्छ।

तर बीबीसीका आर्थिक सम्बाददाता भन्छन्, ब्याजदरलाई ऋणात्मक तुल्याउने जुन एकदमै असामान्य कदम चालिएको छ त्यसका प्रभावहरु बारे झन बढी अनिश्चितताहरु रहेका छन्।