'डी डे' को सत्तरीऔं वर्षगांठ

  • 6 जुन 2014
डी डे तस्वीर कपीराइट AFP
Image caption 'डी डे' को सत्तरी वर्षगांठका अवसरमा उत्तरी फ्रान्समा विभिन्न समारोहहरु आयोजना गर‌िए

उत्तरी फ्रान्सको नरम्यान्डीको तटमा एलाईड सैनिकहरु उत्र‌िएको ऐतिहासिक 'डी डे' को सत्तरीऔं वर्षगांठको अवसरमा दोस्रो विश्वयुध्दमा सहभागी सयौं पूर्व सैनिकहरु तथा विश्व नेताहरुले विभिन्न समारोहहरुमा भाग लिएका छन्।

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलांद तथा अमेरिकी राष्ट्रपति बराक ओबामाले दोस्रो विश्वयुध्दताका करीब नौ हजार अमेरिकी सैनिकहरुलाई समाधिस्थ गरिएको कोलभील स्युरमेर नामक समाधिस्थलमा आयोजित समारोहमा पूर्व सैनिकहरुलाई सम्बोधन गरे।

ब्र‌िटिश सैनिकको समाधिस्थल बायुमा महारानी एलिजावेथले राष्ट्रमण्डल सदस्य देशका पूर्व सैनिकहरुसंग भेट गरिन्।

शुक्रबारका समारोहहरुको खास शुरुवात मध्यरातमा पेगासस् ब्रिजमा हमला शुरु गरिएको ठिक समयसंग जुध्ने गरी आयोजित एक कार्यक्रम सहित भयो।

त्यतिखेर सो ब्रिजमा लड्ने मध्येका एक सिरिल टास्करले विगतलाई सम्झंदै भने, “यो एक ठूलो सम्मान हो। यहां आउनु एकदमै भावपूर्ण अवसर हो।”

अमेरिकी फौजले अतिक्रमण गरेको ओमाहा तटमा उनीहरुले सबेरै परेड खेलेका थिए।

श्रध्दाञ्जली

'डी डे' वार्षिकी समारोहलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपत‌ि फ्रांस्वा ओलांदले, उनकै शब्दमा, विश्वनै परिवर्तन गरिदिने उक्त दिन ज्यान गुमाएकाहरुको सम्मानमा श्रध्दाञ्जली व्यक्त गरे।

बायुमा आयोजित समारोहमा ब्र‌िटिश महारानीले फूलका गुच्छा अर्पण गरिन् भने अमेरिकी राष्ट्रपतिले स्वतन्त्रताप्रतिको उनको देशको प्रतिबध्दता फ्रान्सका तटहरुमा रगतले लेखिएको बताए।

'डी डे' का बखत एलाईड सैनिकहरुले नाजीको नियन्त्रणमा रहेका युरोपेली क्षेत्रहरुको पहिलो चरणको अतिक्रमण गरेका थिए।

सन् १९४४ को जुन ६ तारीखमा जब 'डी डे' कारवाही सकियो तब एलाईड सेनाले फ्रान्समा आफ्नो उपस्थिति स्थापित गरिसकेका थिए, जसका कारण पछि उनीहरुलाई युध्द जित्न मद्दत पुग्यो।

कोलभील स्युरमेर नामक अमेरिकी सेनाको समाधिस्थलमा बोल्दै फ्रान्सका राष्ट्रपत‌ि फ्रांस्वा ओलांदले 'डी डे' मा संलग्न सबैजना नायक भएको बताए।

उनले भने, “उनीहरु हाम्रा मुक्तिदाता थिए। यी सैनिकहरुले अन‌ि अमेरिकाले लगाएको गुन फ्रान्सले कहिल्यै बिर्सने छैन। हाम्रा दुई देशबीचको ऐक्यवद्धता फ्रान्सले कहिल्यै बिर्सने छैन।”

मूल्यमान्यता

अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना सैनिकहरुले जून मूल्यमान्यताको रक्षाका लागि लडे ती सदा कायम रहने बताए।

सन् १९४४ को जुन ६ मा ब्र‌िटिश अमेरिकी तथा क्यानेडेली फौज उत्तरी फ्रान्सको नर्म्यान्डीको तटमा ओर्लिएका थिए।

त्यसको ११ महिनाभित्र नाजी जर्मनी पराजित भयो।

'डी डे' संग्रहालयका अनुसार अतिक्रमणका दिन करीब साढे चार हजार एलाइड सैनिक मारिएका थिए। त्यस्तै सो दिन करीब नौ हजार जर्मन सैनिक मारिए।

उक्त लडाईंले युरोपको नक्शा बदलिदिएको थियो।