'युक्रेनको भविष्य युरोपसंग'

  • 7 जुन 2014
पोरोशेन्को र पुटीन तस्वीर कपीराइट AP
Image caption शुक्रबार उत्तरी फ्रान्समा राष्ट्रपति पुटीन र पोरोशेन्कोबीच छोटो कुराकानी भएको थियो

युक्रेनका नयाँ राष्ट्रपति पेट्रो पोरोशेन्कोले आफ्नो मुलुकको भविष्य युरोपसंगै जोडिइरहने बताउँदै गत मार्च महिनामा रुसले आफुमा गाभेको क्राइमिया सँधै युक्रेनकै हिस्सा रहीरहने बताएका छन्।

उनले युक्रेनलाई युरोपेली संघको पूर्ण सदस्य बनाउने तर्फ आफुले काम गर्ने पनि बताए।

कियभमा शपथ ग्रहण समारोहपछि बोल्दै पोरोशेन्कोले द्वन्द्व ग्रस्त देशको पूर्वी भागमा शान्ति बहाली गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए।

उनले रुस समर्थित उग्रवादीहरुलाई हतियार बिसाउन आह्वान पनि गरे।

आह्वान

उनले भने, “म हतियार उठाएका सबैलाई आफ्नो हतियार बिसाउन आह्वान गर्दछु। युक्रेनका शान्तिपूर्ण नागरिकहरुको रगत हातमा नलागेका जो कोहीलाई आपराधिक जिम्मेवारीबाट उन्मुक्ति दिने म प्रत्याभूति गर्दछु।”

‘चकलेट किङ’ पनि भनिने ४८ बर्षीय अर्बपति पोरोशेन्कोले आफुले देशमा युद्ध हैन, शान्ति चाहेको पनि बताए।

राष्ट्रपति पोरोशेन्कोले रुसी भाषाको प्रयोगमा सहुलियत दिइने र रुसी लडाकुहरुलाई स्वदेश फर्कन बाटो दिइने प्रस्ताव पनि गरे।

उनले शुक्रबार उत्तरी फ्रान्समा डि डे समारोहमा भाग लिन आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग वार्ता गरेका थिए।

फ्रान्सको नरमेन्डीमा दोस्रो विश्वयुद्धका क्रममा जर्मनीको विपक्षमा लडेका गठबन्धनका सैनिकहरुको सम्मानमा आयोजित 'डि डे' समारोहको ७०औँ वार्षिकोत्सव कार्यक्रमले मस्को र किएभका नेताहरुबीच भेटघाटको मौका जुराएको थियो।

जर्मन चान्सलर एंङगेला मर्कलको उपस्थितिमा राष्ट्रपति पुटीन र पोरोशेन्कोबीच भएको कुराकानी पन्ध्र मिनेटसम्म चलेको थियो।

वार्ता

उक्त छलफल तनावपूर्ण भएपनि युक्रेन संकट समाधान गर्ने वार्ताको शुरुवात भएको पोरोशेन्कोले सम्वाददाताहरुलाई बताए।

दुई नेता बीचको छलफलमा युक्रेनी सेना र रुस समर्थक पृथकतावादीहरुबीच सम्भावित युद्धविराम गर्नेबारे कुराकानी भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति पोरोशेन्कोको शपथ ग्रहण समारोहमा युक्रेनका लागि रुसी राजदूत मिखाइल जुबारोभ पनि सामेल भएका थिए।

उनले युक्रेन सरकारसंग पूर्वी युक्रेनमा उसको सैन्य कारवाही रोक्न माग गरेका छन्।

पूर्वी युक्रेनको संकटबारे छलफल गर्न आइतबार मस्को तथा कियभका अधिकारीहरुबीच वार्ता हुने अपेक्षा गरिएको छ।