कतार विश्वकपबारे छानवीनको माग

  • 8 जुन 2014
तस्वीर कपीराइट Getty
Image caption भ्रष्ट्राचारको आरोप कतारी विश्वकप आयोजक समितिले अस्विकार गर्दै आएको छ

सन् २०२२ को विश्वकप फुटबल कतारमा आयोजना गर्न दिने निर्णय लिदाँ फुटबलको सर्वोच्च निकाय फिफा भित्रै अनियमितता भएको आरोप सार्वजनिक भएपछि सो विश्वकपको एउटा मुख्य प्रायोजकले त्यसको छानवीन हुनुपर्ने माग गरेको छ।

लन्डनबाट प्रकाशित हुने द सन्डे टाइम्स दैनिकले गोप्य दस्तावेजहरुमा आधारित समाचारहरु प्रकाशन गरेपछि जापानको प्रमुख बिद्युतीय कम्पनी सोनीले यस्तो चेतावनी दिएको हो।

कतारी विश्वकप आयोजक समितिले गलत काम गरेको अस्वीकार गरेको छ तर सन्डे टाइम्सले थप भ्रष्टाचारका आरोपहरु प्रकाशन गर्ने जनाएको छ।

भ्रष्ट्राचार

अघिल्लो हप्ता द सन्डे टाइम्स समाचारपत्रले फिफाका कतारी पूर्व उपाध्यक्ष महमद बिन हमामले विभिन्न देशका फुटबल पदाधिकारीहरुलाई करिव ३० लाख डलर घुष खुवाएर सन् २०१० मा विश्वकप आयोजना स्थलका लागि भएको भोटमा कतारलाई जित्न सघाएको आरोप लगाएको थियो।

बिन हमामले कतारी राजपरीवारका सदस्य र सरकारका माथिल्ला अधिकारीहरुसँगको आफ्नो पहुँचको प्रयोग गरी विभिन्न सम्झौताहरु गराएको र समर्थन जुटाएको आरोप लागेको छ।

सन्डे टाइम्ससँग रहेका र बीबीसीले देखेका केही इमेलहरुमा बिन हमामले सन् २०१२ र २०१८ को विश्वकप आयोजनास्थलबारेको मतदानको एक महिना अघि क्रेमलिनमा राष्ट्रपति पुटिनलाई भेटेर दुइपक्षीय सम्बन्ध बारे छलफल गरेको उल्लेख छ।

फिफाका थाई कार्यकारीसँग मिलेर हमामले कतारबाट ग्यास आयात गर्ने बारे थाइल्याण्डसँग सम्झौता गराएको जनाइएको छ।

तर ती थाई खेलकुद पदाधिकारीले उक्त सम्झौताबाट आफूले केही लाभ नपाएको बताएका छन्।

जर्मनीको फिफाका पूर्व कार्यकारी फ्रान्ज वेकनबरलाई मतदानको ५ महिनापछि तेल र ग्यास आयत गर्ने कम्पनिका प्रतिनिधि सहित कतार बोलाएको गोप्य दस्तावेजहरुमा उल्लेख छ।

उक्त कम्पनीले ढुवानी तथा समुन्द्री क्षेत्रमा कतारी लगानी जुटाउने प्रयास गरेपनि त्यो सफल नभएको पाइएको छ।

तर त्यसबारे पूर्व जर्मन अन्तराष्ट्रीय खेलाडी वेकनबरले सन्डे टाइम्सलाई प्रतिक्रिया दिन अस्विकार गरे।

प्रतिक्रिया

कतारी विश्वकप आयोजक समितिले अघिल्लो हप्ता बिन हमामले दोहामा विश्वकप आयोजना गराउन कुनै औपचारीक वा अनौपचारिक भुमिका नखेलेको दाबी गरेको थियो।

पछिल्ला आरोपबारे बिन हमाम आँफैले कुनै प्रतिक्रिया दिएका छैनन्।

तर गोप्य इमेलहरुले सन् २०१२ मा भ्रष्ट्रचारको एउटा अर्को आरोप लागेपछि फिफाबाट आजीवन प्रतिबन्धित बिन हमामले कतारको पक्षमा समर्थन जुटाउन प्रयासहरु गरेको पुष्टी गर्छ।

यसैबिच सन्डे टाइम्सले लगाएको आरोपबारे फिफाका अध्यक्ष सेप ब्लाटरले ट्विटर मार्फत प्रतिक्रिया जनाएका छन्।

उनले फुटबलको आचारसंहिताबारे सन्चारमाध्यमहरुले लगाउने आरोपलाई नजरअन्दाज गर्न नसकिने भन्दै फिफाको आचारसंहिता हेर्ने निकायलाई त्यसबारे काम गर्न दिइनुपर्ने माग गरेका छन्।