संविधानका विवादमाथि शीर्षनेतासँग छलफल

  • 8 जुन 2014
Image caption संविधानका विवादित अन्तर्वस्तुमा सहमति जुटाउन संविधान सभाको महत्वपूर्ण उपसमितिले काम थालेको छ

भावी संविधानका विवादित अन्तर्वस्तुहरुमाथि सहमति जुटाउन विभिन्न दल तथा समूहहरुसंग वार्ता गर्ने जिम्मा पाएको संविधानसभाको एउटा महत्वपूर्ण उपसमितिले औपचारिक रुपमा काम थालेको छ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अघिल्लो संविधानसभाले टुंग्याउन बांकी रहेका विवादित प्रश्नहरुमाथि छलफल प्रारम्भ गरेकै बेला त्यसमातहतको उपसमितिले पनि काम थालेको हो।

मोहन वैद्य नेतृत्वको असन्तुष्ट मोर्चासहित दुई सय भन्दा बढी दल तथा समूहसंग वार्ता गर्ने जिम्मा उक्त उपसमितिलाई दिइएको छ।

योजना

पहिलो चरणमा संविधानसभाभित्र रहेका राजनीतिक शक्तिहरुसंग छलफल गर्ने योजना उक्त उपसमितिको छ।

त्यसैको औपचारिक तयारीस्वरुप अघिल्लो संविधानसभाको विवाद समाधान उपसमिति मातहतको कार्यदलका सदस्यहरुको अनुभव शनिबार सुनेको उक्त उपसमितिले आइतबार छलफलका लागि प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएको छ।

संविधानसभाभित्र रहेका दलहरुसंगको यस्तै छलफल जेठको अन्त्यसम्ममा टुंग्याउने योजना रहेको पांच सदस्यीय उक्त उपसमितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बताएका छन्।

उनी भन्छन्, “संविधानसभाभित्र रहेका दलहरुसंग जेठ २८ गतेसम्म छलफल गरिसक्छौं। त्यसपछि संविधानसभा बाहिर रहेपनि संविधानसंग सरोकार राख्ने दल र समूहहरुसंग वार्ता गर्छौं।“

चुनौती

संविधानसभा बहिस्कार गरेका, निर्वाचनमा भाग लिएपनि हारेर संविधानसभा बाहिर रहेका तथा विभिन्न धार्मिक जातीय संगठन एवम् सशस्त्र समूहहरु गरी दुई सयभन्दा बढी दल र समूहसंग वार्ता गर्ने जिम्मा उक्त उपसमितिलाई दिइएको छ।

तीमध्ये उक्त उपसमितिसंग वार्तै नगर्ने अडान राखेको मोहन वैद्य नेतृत्वको असन्तुष्ट मोर्चालाई मनाउन चुनौतीपूर्ण हुने देखिन्छ।

तर त्यसको विकल्प खोजिने ढुंगानाले बताएका छन्।

उनले भने, “उहांहरुले मोर्चाले सरकारसंग वार्ता गर्छौ भनेर ढोका खुल्नै राख्नुभएको छ। कसरी अगाडि जाने भन्ने विषयमा हामी प्रमुख दलका शीर्ष नेताहरुसंग पनि छलफल गर्छौ।“

निश्चित अवधिसम्म सहमतिका यस्ता प्रयासहरु सफल नभए मतदानकै प्रक्रियाबाट भएपनि संविधानका अन्तर्वस्तुहरुको टुंगो लगाउने सत्तारुढ घटकका नेताहरुले बताएका छन् जुन कुराको कडा प्रतिवाद स्वयम् प्रमुख दलमध्येको एकीकृत माओवादी समेतले गर्दै आएको छ।