नेकपा-माओवादीद्वारा राजनीतिकसभा माग

  • 9 जुन 2014
Image caption प्रमुख तीन दलले संविधानसभा निर्वाचनपछि पहिलो पटक नेकपा-माओवादीसँग औपचारिक वार्ता गरेका हुन

गोलमेच सम्मेलन गरिनुपर्ने यसअघिको अडान त्याग्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले संविधान निर्माणका लागि सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गर्न प्रमुख तीन दलसमक्ष प्रस्ताव गरेको छ।

प्रमुख तीन दलसँगको बैठकमा प्रस्तुत उक्त प्रस्तावबारे आन्तरिक छलफल गरी पुनः बैठक डाक्ने समझदारी भएको नेकपा-माओवादीका एक नेताले बताए।

संविधानसभा निर्वाचन प्रक्रिया बहिष्कार गरेको नेकपा-माओवादी र प्रमुख तीन दलबीच चुनावयता सोमबार पहिलोपटक भएको औपचारिक छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन्।

संविधानसभाको संवैधानिक तथा राजनीतिक संवाद समितिको आग्रह अनुसार प्रधानमन्त्री सुशील कोइरालाले सोमबार डाकेको बैठकमा नेकपा-माओवादीले नयाँ प्रस्ताव राखेको हो।

सभा

सबै दल सम्मिलित त्यस्तो राजनीतिक सभाले संविधान निर्माण र राष्ट्रिय राजनीतिक विषयमा सहमति कायम गर्नुपर्ने बैठकमा सहभागी नेकपा-माओवादीका नेता सीपी गजुरेलले बताएका छन्।

त्यसमा सहभागी गराइने दल र निर्णय प्रक्रियाबारे गजुरेलले भने, ''संविधानसभाका ३१ दल र हाम्रो ३३ दलीय मोर्चालाई सरोकारवाला मान्दै सबैलाई आमन्त्रित गर्ने र कार्यसूची आयोजकले तयार पार्ने अनि निर्णय सर्वसम्मतिले गर्ने हाम्रो प्रस्ताव छ।''

नेकपा-माओवादीको प्रस्ताव अनुसार सरकारको सहजीकरणमा चार दलले उक्त सभाको आयोजना गर्नुपर्ने हुन्छ।

यसअघि गोलमेच सम्मेलनमा नागरिक समाज लगायत सबै पक्ष सहभागी हुनुपर्ने माग गर्दै आएपनि राजनीतिक सभामा संविधानभाभित्र र बाहिरका दलहरुको सहभागिता रहने नेकपा-माओवादीको भनाइ छ।

गोलमेच

परिवर्तित सन्दर्भमा गोलमेच सम्मेलनको सट्टा राजनीतिक सभामा जानुपर्ने निष्कर्षमा पुगिएको गजुरेलले बताए।

नेकपा-माओवादीको उक्त प्रस्तावसम्बन्धमा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले भने, ''सबै दलले नेकपा-माओवादीको प्रस्तावबारे आन्तरिक छलफल गरेपछि तीन दलभित्र छलफल गर्ने र त्यसपछि प्रधानमन्त्रीले फेरि वार्ताका लागि बोलाउने सहमति भएको छ।''

प्रमुख दलका केही नेताहरुले मन्त्रीपरिषद्ले मनोनयन गर्ने २६ जना सभासदमा नेकपा-माओवादीलाई ल्याउन सकिने बेला बखत अभिव्यक्ति दिँदै आएपनि त्यसबारे सोमबार कुनै छलफल नभएको बताइएको छ।