पाकिस्तानी तालिबानद्वारा हमलाको जिम्मा

  • 9 जुन 2014
पाकिस्तानी फौज तस्वीर कपीराइट AFP
Image caption विमानस्थलमा आक्रमण भए लगत्तै स्थिति नियन्त्रणमा लिन त्यहाँ सेनाका कमाण्डो परिचालन गरिएको थियो

पाकिस्तानी तालिबानले दशजना हमलाकारी सहित कम्तीमा २८ जनाको ज्यान जानेगरी आईतबार राती कराचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको हमलाको जिम्मा लिएको छ।

हतियारधारीहरुले पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणपछि चलेको लडाई पाँच घण्टापछि सकिएको घोषणा गरिए पनि फेरी सुरक्षा कार्वाही गरिएको थियो।

गोली चलेको आवाज फेरी सुनिएपछि विमानस्थल हस्तान्तरणको तयारी गरिरहेको सेनाले कारवाही शुरु गरेको थियो।

सेनाका एकजना प्रवक्ताले सुरक्षा कारवाहीमा सबै दशजना आक्रमणकारीहरु मारिएको बताए।

हतियारधारी समूहको आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ।

पाकिस्तानको सबैभन्दा ठूलो र व्यस्त विमानस्थलमा गरिएको हमलाको जिम्मेवारी तालिबानले लिएको छ।

दृश्य

अधिकारीहरुका अनुसार मध्यरातभन्दा एकैछिन अघि आक्रमण भएपछि लडाई शुरु भएको थियो।

कराचीबाट बीबीसीका साहजेब जिलानीले भने, “कार्गो र विशिष्ट उडानका निम्ति प्रयोग हुने विमानस्थलको पुरानो टर्मिनलमा प्रवेश गरी हमलाकारीहरुले सुरक्षाकर्मीहरुमाथि ग्रिनेड र स्वचालित हतियारबाट गोली हानेका थिए।”

पाकिस्तानी टेलिभिजन च्यानलहरुले भयानक हमलाको निकै नाटकीय लाग्ने दृश्ययहरु प्रसारण गरेका थिए।

रातभरी जसो गोली हानाहान र विष्फोटनको आवाज सुनिएको थियो।

योजनाकार

आक्रमण शुरु भएलगत्तै आफ्नो घरको छतबाट उसबेलाको दृष्य वर्णन गर्दै एकजना प्रत्यक्षदर्शीले बीबीसीलाई भने, “मैले अहिले विमानस्थलभित्र भीषण आगलागी भएको देखिरहेको छु, त्यहाँ नजिकै एउटा बिमान छ र, त्यसको छेउमा रहेको अर्को विमानमा आगो लगाइएको जस्तो छ।”

तर सेनाले त्यहाँ कुनै पनि विमानलाई क्षति नपुगेको र आगो नलागेको बताएको छ।

आक्रमण लगत्तै कराची तर्फ लागेका सबै उडान अन्यत्रै मोडिएका थिए।

यसअघि पनि तालिबान लडाकूहरुले नौसेना र वायु सेनाका आधार शिविरहरुमा त्यस्ता खाले आक्रमणहरु गरेका थिए।