‘विश्वकपका लागि ब्राजिल तयार’

  • 11 जुन 2014
विश्वकपको तयारी
Image caption ब्राजिलमा विश्वकप फुटबलको तयारीको कतिपयले निकै आलोचना गरेका छन्

ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले विश्वकप फुटबल प्रतियोगिता सञ्चालन गर्न आफ्नो देश पूर्ण तयार भएको बताएकी छन्।

विश्व कपको पूर्वसन्ध्यामा उनले टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै प्रतियोगितालाई सहयोग गर्न सबैसंग आग्रह गरेकी छन्।

खेल शुरुहुनु ४८ घण्टाभन्दा कम समय बांकी रहंदा विरोध र हडतालका चिन्ताहरु प्रकट हुन थालेका माझ उनले सो सम्बोधन गरेकी हुन्।

‘प्रतियोगिताका लागि हामी तयार छौं। आयोजन गर्न लागेको खर्च देशका लागि एक दिर्घकालीन लगानी हो। बनेका संरचना पाहुनाहरुले बोकेर लाने होईनन्,’ ब्राजिलकी राष्ट्रपतिले भनिन्।

राष्ट्रपति रुसेफले विरलै राष्ट्रलाई सम्बोधन गर्ने गर्छिन्।

यसपाला उनले प्रतियोगिताका लागि गरिएका तयारीहरु विरुध्दका व्यापक आलोचनाहरुको मसिनोसंग विरोध गरिन्।

उनले निराशावादीहरुले देशको सक्षमतामाथि प्रश्न उठाएर गरेका टिप्पणीहरु पराजित भएको बताईन्।

चेतावनी

तर पहिलो खेल हुने साओ पाउलो शहरका मेट्रो रेलका कर्मचारीहरुले दिएको हडतालको चेतावनी सेलाएको छैन।

कार्निभल जस्ता ठूल्ठुला सार्वजनिक समारोह आयोजन गर्न आफ्ना शहरहरु अनुभवी रहेको त्यहांका अधिकारीहरुले बताएका छन्।

तर सांच्चिकै हडताल गरिए त्यो दुस्वप्न भन्दा कम नहुने प्रतियोगिता आयोजक समितिका प्रमुखले बताए।

‘ठूला समारोह तथा फुटबलका लाग‌ि विश्वकै सबभन्दा अनुभवी शहरहरु हुन् हाम्रा। तर हडतालै भयो त्योपन‌ि मेट्रो रेलकै हडताल भयो भने त दुस्वप्नै सरह हुन्छ,’ आयोजक समितिका प्रमुख रिकार्डो ट्रेडले भने।

कर्मचारी युनियनका नेताहरुले आफ्ना माग पूरा नगरिए प्रतियोगिताकै दौरान मेट्रो हडताल गरिदिने धम्की दिएका छन्।

मत्थर

विश्वकप आयोजना गर्न गरिएको खर्च बरु शिक्षा तथा स्वास्थमा लगाईएको भए राम्रो हुने भनी गरिएका टिप्पणीहरुलाई पन‌ि राष्ट्रपति रुसेफले पन्छाईदिईन्।

ती टिप्पणीलाई उनले झुटा भन्दै ब्राजिलले ती क्षेत्रमा गर्ने लगानी रंगशाला बनाउन गरिएका लगानीभन्दा कैयौं गुना धेरै रहेको बताईन्।

तर आलोचनाहरु यत्तिकै मत्थर हुने वाला देखिन्नन्। अझै केही निर्माण जारी छन् भने हडतालका चेतावनीहरुलेपन‌ि अप्ठेरो पारेको छ।

उदघाटन खेल आयोजन हुन लागेको साओ पाउलो शहरको रंगशालाको केही निर्माणकार्य अझै जारी छ।