पूर्वी युक्रेनमा सैन्य विमानमाथि हमला

  • 14 जुन 2014
पृथकतावादीहरु Image copyright AFP
Image caption रुससमर्थित पृथकतावादीहरुले अहिले ट्याङ्कसमेत प्रयोग गरिरहेका छन्

रुस समर्थित पृथकतावादीहरुले पूर्वी युक्रेनको लुहान्स्कमा एउटा सैनिक विमानमाथि हमला गर्दा चालकदलका सदस्य तथा युक्रेनी सैन्यसहित उनन्चासजनाको ज्यान गएको छ।

सरकारी सैन्यले पूर्वी युक्रेनको महत्वपूर्ण शहर मारियोपोललाई पुन: नियन्त्रणमा लिएको एकदिनपछि भएको सो घटना रुस समर्थक उग्रवादीहरुसंगको भीडन्तमा युक्रेनले एकैदिनमा व्यहोर्नुपरेको सबैभन्दा ठूलो क्षति हो।

बीबीसीका एकजना संवाददाता भन्छन्, यसबाट पूर्वी युक्रेनमा तनाव अरु बढेर जाने खतरा देखिएको छ।

युक्रेनको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उक्त विमानले बदली गर्न जान लागेका सैनिकहरु तथा हातहतियार लगीरहेको जनाइएको छ।

हमला

इल्युशिन ७६ नामक उक्त विमानमाथि विमानभेदी अस्त्र तथा स्वचालित बन्दूकहरुबाट हमला गरिएको थियो।

लुहान्स्क शहरस्थित विमानस्थलमा ओर्लन लाग्दा सो विमानमाथि हमला गरिएको थियो।

कियभस्थित बीबीसीका संवाददाता डेभिड स्टर्न भन्छन्, अब प्रश्न चाहिं सरकारले कस्तो प्रतिकृया जनाउँछ भन्ने हो।

सरकारले युद्ध विरामको प्रस्ताव गर्ला वा थप सैन्य परिचालन गर्ला भन्ने प्रष्ट भैसकेको छैन।

हाम्रा संवाददाता भन्छन्, युक्रेनमा शान्तिको संभावना अझै सकिइसकेको छैन। तर उनी भन्छन्, यस्ता प्रत्येक घटनाले शान्तिको संभावनालाई कमजोर तुल्याइदिन्छन्।

दबाब

भर्खरै निर्वाचित राष्ट्पति पेट्रो पेरोशेन्कोमाथि द्वन्द्व अन्त्य गर्न दबाब बढिरहेको छ।

गत सातापनि रुस समर्थित विद्रोहीहरुले लुहा्न्स्कस्थित विमानस्थलमा पटक पटक हमला गरेका थिए।

विमानस्थल अहिले पनि सरकारी सैन्यको नियन्त्रणमा छ, तर शहरको बाँकी भाग चाहिं पृथकतावादीहरुको नियन्त्रणमा छ।

यसैबीच संयुक्त राज्य अमेरिकाले पूर्वी युक्रेनमा पृथकतावादीहरुले प्रयोग गरिरहेका ट्याङकहरु रुसबाटै आएको भन्नेमा उ विश्वस्त रहेको जनाएको छ।

डोनस्क प्रान्तका विभिन्न भागमा पृथकतावादीहरुले ट्याङ्क प्रयोग गरिरहेको भिडियोहरु सार्वजनिक भएपछि रुस र युक्रेनबीच विवाद चर्किएको थियो।

रुसले ती ट्याङ्कहरु आफ्नो भूभागबाट युक्रेनमा गएको भन्ने आरोपहरुको खण्डन गरेको छ।

विरोध

युक्रेनको अन्तरिम सरकार तथा पश्चिमा मुलुकहरुको कडा विरोधका बावजुद रुससंग सीमा जोडिएको युक्रेनकै क्राइमिया क्षेत्रमा गएको मार्च महिनामा जनमत संग्रह गराइएको थियो।

उक्त विवादित जनमतसंग्रहमा अत्यधिक मतदाताहरुले युक्रेनबाट अलग हुनेपक्षमा मतदान गरेको बताइएको थियो। त्यसयता क्राइमियालाई रुसले आफ्नो भूभागमा विलय गराइसकेको छ।

पूर्वी युक्रेनका थप भूभागहरुलाई स्वतन्त्र बन्न वा रुसमा विलय हुनदिनबाट रोक्न युक्रेनी सैन्यले त्यहाँ रुस समर्थित पृथकतावादीहरु विरुद्ध सैन्य कारवाही गरिरहेका छन्।