'एमाओवादीसहित पाँच दलले सहकार्य गर्ने'

  • 15 जुन 2014
Image caption एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यबीच निकटता बढ्दै गएको बताइन्छ

नयाँ संविधानको अन्तरवस्तु र शान्ति प्रक्रियाका बाँकी काम लगायतका मुद्दामा कार्यगत एकता गर्न एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीसहितका पाँच वामपन्थी दलहरु सहमति नजिक पुगेको नेताहरुले बताएका छन्।

उक्त विषयमा आगामी बैठकमा साझा अवधारणा आउन सक्ने एकीकृत माओवादीका एक नेताले बताए।

बैठकमा सहभागी नेताहरुका अनुसार सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार गर्ने दीर्घकालीन उद्देश्यका साथ अन्तरपार्टी छलफल थालिएको हो।

कार्यगत एकता अपरिहार्य रहेको भन्दै एकीकृत माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी लगायतका वामपन्थी दलहरुले संयुक्त छलफल थालेको बताएका छन्।

सहकार्य

तत्कालका लागि शान्ति प्रक्रिया, संविधान निर्माण तथा जनसरोकारका विषयमा सहकार्य गर्ने उद्देश्यका साथ पाँच दलबीच संवाद अगाडि बढाईएको बैठकमा सहभागी एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले बताए।

आईतबार भएको पहिलो बैठकलाई सकारात्मक भन्दै असार ७ गतेका लागि डाकिएको अर्को बैठकबारे उनले भने, ''अब अहिले नै त्यसरी तोकेर त नभनौं। तैपनि म आफू चाहिँ असार ७ गते एउटा निष्कर्षमा पुग्न सक्छौं भन्नेमा आशावादी छु।''

सरकारको पहलमा नेकपा-माओवादीसित प्रमुख तीन दलले पहिलोपटक वार्ता थालेको पृष्ठभूमिमा उ सहित संविधानसभाबाहिरका केही साना घटकसँग सहकार्यका निम्ति एकीकृत माओवादी अग्रसर भएको देखिएको छ।

तीमध्ये मोहन वैद्य नेतृत्व र मातृका यादव नेतृत्वका दुई पार्टी एकीकृत माओवादीबाटै चोइटिएर बनेका हुन।

एजेण्डा

विगतमा कार्यदिशा गलत भन्दै अलग भएका पार्टी अहिले आएर कार्यगत एकता गर्ने निष्कर्षमा कसरी पुगे?

जवाफमा नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने, ''कार्यगत एकता गर्ने भनेको चाहिँ तत्कालका एजेण्डाहरु मिल्नुपर्छ भन्ने हो। सबैकुरा मिल्नुपर्छ भन्ने होइन।''

आईतबारको छलफलका अर्का सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता मणि थापा भने पाँच दलबीच भविष्यमा एकता गर्ने दीर्घकालीन उद्देश्यले छलफल शुरु गरिएको बताए।

उनले भने, ''अहिले हामी सहकार्यको चरणमा छौं। अन्ततः हामी छलफल गर्दै जाँदा पार्टी एकताको विन्दुसम्म पनि पुग्नु आवश्यकता हुन सक्छ भन्ने बोधका साथ यो प्रयास थालिएको हो।''

यस्तो कोसिस भनिएपनि तत्काल एकता गर्न नहुने भन्ने आवाजहरु समेत ती पार्टी--खासगरी एकीकृत माओवादी र वैद्य नेतृत्वको माओवादी-- भित्र प्रबल रहेको जानकारहरु बताउँछन्।