जापानले अग्रता जोगाउन सकेन

  • 15 जुन 2014
विश्वकप प्रतियोगितास्थल तस्वीर कपीराइट Reuters
Image caption चर्को गर्मी र मैदान व्यवस्थापनप्रति इङ्ल्याण्डका प्रशिक्षकले असन्तुष्टी जनाए

विश्वकपको समुह ‘सी’ को खेलमा एसियाली टोली जापानले प्रभावशाली खेल पस्किने संकेत गर्दै खेलमा अग्रता लिए पनि आइभोरी कोष्टले दुई मिनेटभित्र दुई गोल गर्दै जीत हात पारेको छ।

खेलको १६ ‍औं मिनेटमा केइसुके होन्डाले रक्षाक्षेत्र बाहिरबाट शक्तिशाली रुपमा बाँया खुट्टाले प्रहार गर्दा गोल भएको थियो।

तर दोस्रो हाफमा टोलीले अग्रता जोगाउन सकेन।

वैकल्पिक खेलाडी डिडियर ड्रोग्वा मैदानमा छिरेपछि आइभोरी कोस्टले खेलमा लय समाएको थियो।

अनि मध्यान्तरपछि दुई मिनेटभित्रै विलफ्रेड बोनी र जेरभिन्होले हेड गोल गरेर टोलीलाई विजयतर्फ दोहोर्याएका थिए।

इटाली फेरी हावी

मारियो बालोटेलीले दोस्रो हाफमा गरेको निर्णायक गोलको मदतले इटलीले विश्वकपको समुह ‘डी’ को रोमाञ्चक खेलमा इङलैण्डलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको छ।

खेलको ३५ औं मिनेटमा क्लाउडियो मार्चिसियोले गोल गरेपछि इटलीले खेलमा अग्रता लिएपनि त्यसको दुई मिनेट नबित्दै इङल्याण्डका डानियल स्टुराइडले गोल फर्काएपछि मध्यान्तरसम्म खेल बराबरीको स्थितमा थियो।

बालोटेलीले ५० औं मिनेटमा हेड गोल गरेर लिएको अग्रतालाई टोलीले अन्तिम समयसम्म बचाउन सफल भयो।

कमजोर मैदान र उष्ण गर्मीका कारण खेल हुनु पुर्व नै आलोचित बनेको ब्राजीलको एक शहर मानाउसको एरेना एमाजोनिया रंगशालामा आफ्ना खेलाडीहरु थकित भएको इङल्याण्डका प्रशिक्षक रोय होड्सनले बताए।

उनले आफ्नो टोलीको बचाउ गर्दै भने, "हार स्वीकार्न गाहो छ, तर मैले खेलाडीहरुले निकै राम्रो खेलिरहेको देखिरहेको छु, उनीहरुले आजको खेलबाट निकै आत्मविश्वास बटुलेका छन्, जुन आगामी खेलको लागि फाइदाजनक हुनेछ।"

तस्वीर कपीराइट ALLSPORT

इङल्याण्डले अर्को खेल समुहमा पराजय भोगेको अर्को टोली उरुग्वेसग खेल्दैछ।

इटली र इङलैण्डवीचको खेलमा इटली हावी भएको देखिन्छ।

पछिल्लो १२ भेटमध्ये १० खेलमा इङलैण्डले हार ब्यहोरेको छ।

उरुग्वे स्तव्ध

समुह ‘डी’ को यसअघिको खेलमा कमजोर आंकिएको कोस्टारिकाले उरुग्वेलाई एकका विरुद्ध तीन गोलले पराजित गरेपछि त्यो समुहको नतिजा ‍झन् रोमाञ्चक बन्न पुगेको छ।

गोल भिन्नताको आधारमा कोस्टारिका अंक तालिकाको शीर्षमा रहेको छ।

इडिन्सन काभानीको पेनाल्टी गोल मार्फत अग्रता लिंदा सहज देखिएको उरुग्वेलाई कोस्टारिकाले मध्यान्तरपछि आच्छु-आच्छु पारेको थियो।

जोय क्याम्पवेल र ‌ओस्कार डर्टले तीन मिनेटको वीचमा दुई गोल गरेपछि खेल कोस्टारिको नियन्त्रणमा पुगेको थियो।

मार्कोस युरेनाले ८४ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए।

कोस्टारिकाले विश्वकपमा दुई भन्दा बढी गोल गरेको यो पहिलो पटक हो।

उनीहरुले गरेका गोलपोस्ट लक्षित चारवटा प्रहारमा तीनवटा गोलमा परिणत भएका थिए।

सन् १९७० मा पहिलो खेल जितेको उरुग्वेले भने लगातार छवटा विश्वकपमा पहिलो खेलमा हार भोगेको छ।