अमेरिकाले इराकमा २७५ सैन्य परिचालन गर्ने

  • 17 जुन 2014
राष्ट्रपति ओबामा तस्वीर कपीराइट AP
Image caption राष्ट्रपति ओबामाले अमेरिकी नागरिक र सम्पत्ति रक्षाका लागि इराकमा सैन्य पठाइने बताएका छन्

संयुक्त राज्य अमेरिकाले बग्दादमा रहेका अमेरिकी कर्मचारी र दूतावासको सुरक्षार्थ २७५ जना लडाकु सेना इराक पठाउंदैछ।

राष्ट्रपति ओबामाले अमेरिकी संसद, कंग्रेसलाई एउटा पत्र लेख्दै, बग्दादमा २७५ जना सैनिकहरु परिचालन गर्ने आफ्नो योजनाको जानकारी गराएका छन्।

उनी भन्छन् त्यस्तो सैन्य बलको उद्देश्य अमेरिकी नागरिक र सम्पत्तीको सुरक्षा गर्नु हो र आवश्यक परेको खण्डमा त्यो लडाईंका लागि समेत तयार हुने गरी सुसज्जीत रहने छ।

स्थलमा सुरक्षास्थितमा सुधार नआएसम्म त्यस्तो सैन्यबल इराकमा नै रहनेछ।

तर उग्रवादी समूह आइएसआइएसले इराकमा आक्रामक कार्वाही अघि बढाउंदै लगिरहेको अवस्थामा त्यस्तो सैन्य फिर्तीको समय कहिले हुन्छ भनेर यकिन साथ भन्न सकिने अवस्था छैन।

जानकारी

इराकमा अमेरिकाले गर्न सक्ने विस्तृत कार्वाही के कस्तो हुनेछ भन्ने बारे विचार गरिरहेका राष्ट्रपति ओबामालाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले नियमित रुपमा जानकारी गराइरहेका छन्।

अर्को छुट्टै घटनामा, अमेरिकी अधिकारीहरुले भनेका छन् तिनीहरुले इराकमा जारी स्थितीका बारे इरानसंग वार्ता गरेकाछन्।

त्यसअघि अमेरिकी विदेशमन्त्री जन केरीले उक्त मामिलामा आफ्नो कुनै समयको शत्रु राष्ट्र इरानसंग सिर्जनात्मक वार्ताहरु गर्न आफू तयार रहेको बताएका थिए।

तर अमेरिकी अधिकारीहरुले इरानसंग कुनै पनि प्रकारको आपसी सैन्य सहयोगको सम्भावनालाई अस्वीकार गरेका छन्।

यसैबीच आइएसआइए लाई रोक्न हवाइ आक्रमण गर्न सकिने विदेशमन्त्री केरीले याहू न्यूज संगको कुराकानीमा बताएका छन्।

वार्ता

तस्वीर कपीराइट AFP
Image caption गत हप्तादेखि आइएसआइएसले इराकका विभिन्न शहरहरुलाई कब्जामा लिइरहेको छ

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयकी प्रवक्ता जेन साकीले भनिन् वाशिंगटन यो मामिलामा आफ्नो पूरानो शत्रु देशसंग वार्ता गर्न खुला छ। “ हामी इरानसंग इराकमा रहेका उग्रवादीहरु विरुद्ध सैनिक संयोजनको विषयमा कुराकानी गर्ने छैनौं।

"बरु हामी इरानलाई विद्यामान समस्याहरुलाई गैर साम्प्रदायिक ढंगले सम्बोधन गर्नका लागि इराकीहरुलाई प्रेरित गर्न भन्नेछौं”

गत केहि हप्ताहरुमा उग्रवादी समूह आइएसआइएस का लडाकुहरुले विभिन्न इराकी शहरहरुलाई कब्जामा लिएका छन्।