विश्वकप: छैठौं दिनको खेल अनुमान

  • 17 जुन 2014
बेल्जीयमको टोली प्रशिक्षणमा
Image caption बेल्जीयमको शक्तिका अगाडी अल्जेरियाको प्रदर्शन कस्तो रहला भन्ने कौतुहल विश्लेषकहरुको छ।

आयोजक ब्राजील र मेक्सिकोबीच फोर्टालेजा मा प्रतिस्पर्धा हुंदैछ।

समूह एचका बेल्जीयम र अल्जेरिया अनि रुस र दक्षिण कोरिया बीचको खेल पनि आजको आकर्षण हो।

प्रतिस्पर्धा को को बीच? विजयी को होला? बीबीसी स्पोर्टका फुटबल विज्ञ मार्क लरेन्सनको विश्लेषण र अनुमान।

बेल्जीयम र अल्जेरिया

बेल्जीयमसंग केहि एकदम राम्रा खेलाडीहरु छन् र तिनीहरु खेल जिताउन सक्ने क्षमता भएकाहरु हुन्।

प्राविधिक वा रणनीतिक दृष्टिले अल्जेरिया त्यति पछाडी त छैन।

तर बेल्जीयमको शक्तिका अगाडी तिनीहरुलाई टिक्न गाह्रो हुन सक्छ।

ब्राजील र मेक्सिको

क्रोएशियासंगको पहिलो खेलमा ब्राजील त्यति दमदार रुपमा प्रस्तुत भएको जस्तो देखिएन।

त्यसबेला रेफ्रीका निर्णयहरुले पनि तिनीहरुलाई सघाउ पुगेको जस्तो लागेको छ।

किनकी मेरो विचारमा दोस्रो गोलका लागि जुन पेनाल्टी तिनीहरुले पाए त्यो उचित थियो जस्तो लाग्दैन र नेएमारले रातो कार्ड पाउनु पर्ने थियो।

तस्वीर कपीराइट AP
Image caption दुवैले एक एक खेल खेलिसकेका ब्राजील र मेक्सिको बीचको खेलको प्रशंसकहरुमाझ व्यग्र प्रतिक्षा भैरहेको छ।

रुस र दक्षिण कोरिया

रुसका प्रशिक्षक फ्याविओ कापेलोले सन् २०१० मा इंगल्याण्डको व्यवस्थापकका हैसियतले पाएको असफलताबाट शिक्षा लिएका होलान् भन्ने आशा गर्न सकिन्छ।

कापेलोसंग राम्रा रुसी खेलाडीहरु छन् र तिनीहरु दक्षिण कोरियामाथि हावी हुन सक्छन्।

दक्षिण कोरियासंग पनि सिपालु खेलाडीहरु छन् तर रुसले अलि कडा खेल खेलेमा तिनीहरुलाई धान्न गाह्रो हुन सक्छ।

ध्यान दिनु पर्ने खेलाडी

दक्षिण कोरियाका डिफेन्डर किम योंग-ग्वोन मध्य-क्षेत्रका बलिया रक्षक खेलाडी हुन्।

गुआंगझाउ एभारग्रान्डी क्लबबाट खेल्ने ति २४ वर्षिय खेलाडीलाई उनका क्लब म्यानेजर मार्सेलो लिपीले महान प्रदर्शन गर्न सक्ने क्षमता भएका भनेर प्रशंसा गरेका थिए। जापानबाट आफ्नो खेल जीवन शुरु गरेका योंग-ग्वोनले आफ्नो देशभित्रै भने व्यवसायिक फुटबल खेलेका छैनन्।