'मोसुलबाट ४० भारतीय कामदार अपहरित'

  • 18 जुन 2014

भारतको विदेश मन्त्रालयले उत्तरी ईराकी शहर मोसुलबाट चालीसजना भारतीय निर्माण मजदूरहरुलाई अपहरण गरिएको जनाएको छ।

उनीहरुलाई आईएसआईएसको कब्जामा रहेको क्षेत्रबाट सुन्नी विद्रोहीहरुले अपहरण गरेको बताईएको छ।

तस्वीर कपीराइट AFP
Image caption इस्लामवादी उग्रवादीहरु राजधानी बगदादतर्फ अघि बढ्न खोजीरहेको बताइएको छ

भारतीय अधिकारीहरुले उनीहरुलाई गत साता अपहरण गरिएको भएपनि हालसम्म तिनको अवस्था अज्ञात रहेको जनाएका छन्।

समाचारहरुमा कुनै फिरौती रकमको माग नआएको जनाइएको छ।

हाल सुन्नी विद्रोहीको नियन्त्रणमा रहेको भूतपूर्व इराकी शासक सद्दाम हुसेनको गृहनगर टिक्रीट शहरमा करीब पचास जना भारतीय नर्सहरु फँसिरहेको पनि बताईएको छ।

हमला

इस्लामवादीहरुले नेतृत्व गरेका उग्रवादीहरुले राजधानी बगदादभन्दा २१० किलोमिटर उत्तरमा रहेको बाइजीमा रहेको देशको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा हमला गरेका छन्।

उनीहरुले मोर्टार गोला तथा स्वचालित बन्दूकहरु प्रयोग गरी हमला गरेका थिए।

रोयटर्स समाचार संस्थासंग कुरा गर्दै एकजना अधिकारीले बेइजीस्थित प्रशोधन केन्द्रको झण्डै ७५ प्रतिशत इलाकामा उग्रवादीहरुले कब्जा गरेको बताए।

राजधानीतर्फ अघि बढीरहेका उग्रवादीहरुमाथि सरकारी सैन्यले थप हवाइ हमला गरेका छन्। पश्चिमी शहर रमादीमा पनि लडाईं भैरहेको बताइएको छ।

रणनीतिक महत्वको ताल आफर नगरमा पनि इराकी सैन्य तथा विद्रोही लडाकुहरुबीच भीडन्त भैरहेका छन्।

आह्वान

बुधबार सुन्नी तथा कुर्दिश नेताहरुसंग राष्ट्रिय टेलिभिजनमा बोल्दै प्रधानमन्त्री नुरी अल मलिकीले राष्ट्रिय एकताकालागि आह्वान गरे।

उनले भने, "म फे‌रि पनि भन्न चाहन्छु कि इराकमा जे भएको छ, त्यो धक्का हो, तर हरेक धक्का पराजय हुँदैन। यो धक्काले इराकलाई राष्ट्रिय एकता फेरि हासिल गर्न मदत पुराएको छ। कुनैपनि इराकीलाई यो संकटबाट फाइदा हुनेछैन।"

गत साता आइएसआइएस लडाकुहरु छिमेकी सिरियाबाट सीमा पार गरी इराकमा प्रवेश गरी मोसुल तथा टिक्रिट लगायतका शहरहरुमा कब्जा जमाएका थिए।

उनीहरुले आत्मसमर्पण गरेका कैयौं इराकी सैनिकहरुको आमहत्या पनि गरेका थिए।

त्यहाँबाट लाखौं मानिसहरु तिनका घर छाडेर भागेको अन्तर्राष्ट्रिय संगठनहरुले जनाएका छन्।