इराकमा बरिष्ठ सैनिक अधिकारीहरु बर्खास्त

  • 18 जुन 2014
इराकी प्रधानमन्त्री नुरी अल मलिकी तस्वीर कपीराइट AP
Image caption प्रधानमन्त्री मलिकीले बरिष्ठ सैन्य अधिकारीहरुले राष्ट्रिय दायित्व पुरा नगरेको बताएका छन्।

इराकी प्रधानमन्त्री नुरी अल मलिकीले देशको दोस्रो ठूलो शहर मोसुल गत हप्ता सुन्नी उग्रवादीहरुको हातमा परेको घटनाका सम्बन्धमा चारजना बरिष्ठ सैनिक अधिकारीहरुलाई बर्खास्त गरेका छन्।

मंगलबार जारी गरिएको एक सरकारी वक्तव्यमा भनिएको छ आफ्नो राष्ट्रिय दायित्व पालना नगरेकामा चार जना सैनिक कमाण्डरहरुलाई पदमुक्त गरिएको हो।

मंगलबार बर्खास्त गरिएका अधिकारीहरुमा आइएस आइएस लडाकुहरुले पहिलो सफलता हात पारेका प्रान्त निनेभेहका बरिष्ठ कमाण्डर पनि छन्। अर्का बरिष्ठ कमाण्डरलाई आफ्नो मोर्चा त्यागी लडाईंबाट भागेको अभियोगमा उनको अनुपस्थितीमा कोर्ट मार्शल गरिने बताइएको छ।

राष्ट्रिय एकता

मंगलबार बेलुका बग्दादमा भएको वार्तापछि प्रधानमन्त्री मलिकी र उनको शिया सरकारका बरिष्ठ सदस्य तथा सुन्नी नेताहरुले राष्ट्रिय एकताका लागि आह्वान गरेका थिए।

तिनीहरुले इराकीहरुलाई साम्प्रदायिक असन्तुष्टिहरु अभिव्यक्त नगर्न र सरकारी काममा लागेका बाहेक अन्य व्यक्तिले हतियार बोक्नमा प्रतिबन्ध लगाइएको पनि बताए।

अब उग्रवादीहरु नजीक आइरहेको भन्ने समाचारका माझ राजधानी बग्दादका मानिसहरुले खानेकुरा र पीउने पानी संग्रह गरेर राख्‍न थालेका छन्।

सुन्नी जातिय समुदायहरुका एकजना प्रवक्ता, शेख अब्दुल रजाक अल शिमरीले, सरकारबाट सुन्नीहरुको दमन भएकाले यो सब भैरहेको बताएका छन्।

“इराकमा अहिले जे भैरहेको छ त्यो क्रान्ती हो।

"यो सन् २००५ देखि हालसम्मका विभिन्न सरकारहरुको नेतृत्वले देशको सबैभन्दा ठूलो साम्प्रदायिक समूह, सुन्नीहरुलाई एक्लो पार्ने, हेलां र दमन गर्ने गरेकाले यो सबै भैरहेको हो।“

‌आइएसआइएस विद्रोही समुहको नेतृत्वमा रहेका उग्रवादीहरुले गत हप्ता तिब्र प्रगति गर्दै उत्तरी शहरहरु मोसुल र टिक्रीटलाई कब्जामा लिएका थिए भने सोमबार मात्र ताल अफार शहर हात पारेका थिए।

तस्वीर कपीराइट AFP
Image caption शिया स्वयंसेवक लडाकुहरु सेनालाई सघाउनका लागि मिलिसियाका रुपमा कार्यरत रहेका बताइएको छ

मिलिसिया

तिनीहरुले राजधानी बग्दाद बाट साठी किलोमिटरको दुरीमा रहेको बाकुबा शहरलाई पनि रातभरी आक्रमण गरी केहि समयलाई आफ्नो नियन्त्रणमा लिएका थिए।

तिनीहरुलाई मंगलबार सरकारी सेना र शिया मिलिसियाले धपाइदिएका थिए।

बीबीसीका विश्व मामिला सम्पादक जन सिम्पसन भन्छन्, शिया स्वयंसेवक लडाकुहरु भिडन्तमा सहभागी हुंदाको खतरा के हो भने त्यसबाट सर्वसाधारण सुन्नीहरु पनि पिडित हुन सक्ने जोखिम रहन्छ।

अर्को शब्दमा भन्दा, वर्तमान द्वन्द्व ले स्पष्ट रुपमा धार्मिक युद्धको रुप लिन सक्छ।