'रकम अभावले सडक विस्तारमा ढिलाई'

  • 18 जुन 2014
तस्वीर कपीराइट Jitendra Raut
Image caption सडक विस्तार क्रममा क्षतिपूर्तिका लागि आवश्यक पैसा नआउँदा काम प्रभावित भएको बताइएको छ

सडक विस्तारका क्रममा भत्काइएका कतिपय घरहरुको क्षतिपुर्ती रकम सरकारले नदिँदा काठमान्डु उपत्यकाको सडक विस्तारमा ढिलाई हुन थालेको काठमाण्डु उपत्यका विकास प्राधिकरणले जनाएको छ।

तर यसलाई अस्वीकार गर्दै योजनाबद्ध काम भए पैसा जुटाउन समस्या नपर्ने अर्थ मन्त्रालयका अधिकारीले बताएका छन्।

सडक विस्तारको लागि करिब ५ अर्ब रुपैँया खर्च भइसकेको प्राधिकरणले जनाएको छ।

अढाई वर्ष अघि तीब्र गतिमा सुरु भएको काठमाण्डु उपत्यकाको सडक विस्तारको काममा केही महिना यता सुस्तता आएको छ।

ढिलाई

कतिपय ठाउँहरुको घर तथा पर्खाल भत्काउनको लागि चिन्ह लगाएको महिनौं वितिसक्दा समेत सडक विस्तारको काम सुरु भएको छैन।

काठमाण्डु उपत्यका विकास प्रधिकरणका नायव विकास आयुक्त भाईकाजी तिवारीले वजेट नभएका कारण ढिलाई भएको बताए।

उनी भन्छन्, “पहिला भत्काइसकेका घरहरुको क्षतिपुर्ति सरकारले दिइ नसकेको कारणले अरु घरहरु भत्काउन जाँदा के गर्ने भन्ने अन्योल भएको छ। सरकारले बाटो विस्तारमा पैसा रोकिएको छैन भन्छ तर यथार्थमा रोकिएकै छ। आफ्नै घर आफै भत्काउछु क्षतिपुर्ति देउ भनेको बेला दिन सकियो भने बाटो विस्तारको काम पहिलेकै गतिमा अघि बढ्छ।”

तर यसै आर्थिक वर्ष भित्र पटकपटक गरेर प्राधिकरणबाट माग भए अनुसारको अढाई अर्व रुपैयाँ निकासा भइसकेकोले पैसा नरोकेको अर्थ मन्त्रालयको वजेट महासाखाका प्रमुख बैकुन्ठ अर्यालले बताए।

समन्वय अभाव

यद्यपी दुई निकायबीचको योजना र समन्वयको अभावले स्रोत जुटाउन समय लागेको उनको भनाई छ।

उनी भन्छन्, “अर्थ मन्त्रालयसँग स्रोतहरु छेलोखेलो छ भन्ने हुँदैन। योजनाबद्ध भएका कामहरुमा हामीले रोकेका छैनौं। कति घर भत्काउनु पर्छ र त्यसको क्षतिपुर्ति कति दिनु पर्छ भन्ने कुराको वास्तविक हिसाव आयो भने हामी स्रोतको व्यवस्थापन गर्छौं।”

प्राधिकरणका अनुसार उपत्यकाको २ सय ५ किलोमिटर सडक विस्तार गर्नुपर्नेमा १ सय ८५ किलोमिटर विस्तार भइसकेको छ। त्यस मध्ये हालसम्म ७५ किलोमिटर सडक कालोपत्रे क़भइसकेको छ।