फ्रान्स सहजै दोस्रो चरणमा

  • 21 जुन 2014
तस्वीर कपीराइट Getty
Image caption विश्वकप फुटबलमा फ्रान्स दोश्रो चरणमा पुगेपछि प्रशंशकहरुले खुशी मनाएका छन्

फ्रान्सले ब्राजीलमा जारी विश्वकप फुटबलको अन्तिम १६ स्थान सुरक्षित गरेको छ।

शनिबार विहान सबेरै भएको खेलमा स्विट्जरल्याण्डलाई दुइका विरुद्ध पाँच गोलले पराजित गर्दै १९९८ को विजेता फ्रान्सले यसपाली आफ्नो प्रभाव कायम राखेको छ ।

यसअघिको पहिलो खेलमा फ्रान्सले होन्डुरसलाई शुन्य का विरुद्ध तीन गोलले हराएको छ ।

ब्राजीलको शहर साल्भाडोरको एरेना फोन्टे नोभा रंगशालामा भएको खेलमा फ्रान्सले गोलको वर्षा गर्ने क्रममा मध्यान्तर अगाडि तीन र त्यसपछि दुइ गोल गरेको थियो ।

गोल

खेलको १७ औं मिनेटमा ओलिभियर गिराउडको आकर्षक हेड गोलबाट अग्रता लिएको फ्रान्सले त्यसको ६६ सेकेन्डपछि ब्लेस माटुइडीले अर्को गोल थपेका थिए ।

मध्यान्तर हुनु पाँच मिनेट अगाडि माथुइ भालबुयनाले टोलीको लागि तेस्रो गोल गरे ।

खेलको अन्त्यतिर स्विट्जरल्याण्डले सात मिनेटको बीचमा दुई गोल फर्काउनु अगाडि फ्रान्सका करिम बेन्जेमा र माउसा सिसोकोले एरेना फोन्टे नोभा रंगशालामा दुई गोल थप्दै फ्रान्सको गोल संख्या ५ पुरयाइसकेका थिए।

रोचक रुपमा ब्राजिलको शहर साल्भाडोर स्थित एरेना फोन्टे नोभा रंगशालामा अहिलेसम्म सवैभन्दा वढी १७ गोल भइसकेको छ ।

तस्वीर कपीराइट Getty
Image caption चारपटकको विश्वकप विजेता इटलीलाई पराजित गर्दै कोस्टारिका दोश्रो चरणमा प्रवेश गरेको छ

यसै मैदानमा नेदरल्याण्ड्सले स्पेनलाई एकका विरुद्ध पाँच गोलले तथा जर्मनीले पोर्चुगललाई शुन्यका विरुद्ध चार गोल प्रहार गरेका थिए ।

इक्वेडरको आशा

समुह इ कै अर्को खेलमा इक्वेडरले होन्डुरसलाई एकका विरुद्ध दुइ गोलले हराउदै दोस्रो चरणमा पुग्ने आशा जीवितै राखेको छ ।

होन्डुरसले ३१ ‍औं मिनेटमा खेलमा अग्रता लिएपनि इक्वेडरका इनेर भ्यालेन्सियाले दुई गोल फर्काउदै टोलीलाई प्रतियोगितामा जोगाएका थिए ।

उनले पहिलो गोल ३४ औं र निर्णायक गोल ६५ औं मिनेटमा गरेका थिए । स्विट्जरल्याण्ड र इक्वेडरको समान तीन अंक छ ।

विश्वकपको पछिल्लो आठ खेलमा एक खेल पनि नजितेको होन्डुरस प्रतियोगिताबाट बाहिरिएको छ ।

तस्वीर कपीराइट Getty
Image caption इक्वेडर र स्वीट्जरल्याण्डको समान अंक छ र इक्वेडरले दोश्रो चरणमा प्रवेश पाउने आशा राखेको छ

इंगल्याण्ड बाहिरियो

कोस्टारिका दोस्रो चरणमा पुग्दा इंग्लाण्ड बाहिरिएको छ।

विश्वकपको सवैभन्दा कठिन मानिएको समुह डि बाट मध्य अमेरिकी राष्ट्र कोस्टारिकाले चार पटकका च्याम्पियन इटलीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

इटलीको पराजयसंगै इंगल्याण्डड भने एक खेल खेल्नु अगाडि नै विश्वकपबाट बाहिरिएको छ ।

प्राविधिक पुष्टी

कोस्टारिकाले पहिलो खेलमा उरुग्वेलाई हराउदा त्यसलाई विश्वकपको नसोचिएको नतिजा भनिएको थियो।

तर मध्यान्तर हुनु एक मिनेट अगाडि ब्रायन रुइजले हेड बाट गोल गरेपछि टोली समुह तालिकाको शीर्षमा पुगेको छ ।

रुइजले गरेको सो प्रहार क्रसबारमा ठोक्किंदै पोष्ट भित्र छिरेको थियो, जसलाई गोल लाइन प्रविधिले पुष्टी गरेको थियो ।

समुह डि बाट अव इटली र उरुग्वे मध्ये एकले पनि समुह चरणबाटै बाहिरिने पक्का भएको छ; त्यसको निर्णय आगामी मंगलवार हुने यी दुई राष्ट्र बीचको खेलबाट हुनेछ ।