विश्वविजेता इटली खेलबाट बाहिरियो

  • 25 जुन 2014
तस्वीर कपीराइट AFP
Image caption उरुग्वेसँग खेल हार्नु अघि इटलीका एक खेलाडि रातो कार्ड पाएर बाहिरिनु परेपछि रेफ्रीसँग विवाद गर्दै थिए

उरुग्वेले मंगलबारको विश्वकप फुटबलमा नाटकीय रुपमा अन्तिम समयतिर खेल जितेर चारपटकको विश्वकप विजेता इटलीलाई विश्वकपको दोश्रो चरणमा पुग्नबाटै रोक्नेगरी पराजित गरेको छ।

मध्यान्तरसम्म दुइ टीम बराबरीमा थिए।

अन्तिम तिर उरुग्वेका क्याप्टेन गडिनले गोल हानेका थिए।

खेल जितेपनि उरुग्वेका प्रख्यात खेलाडि लुइ स्वारेज भने विवादमा परेका छन्।

विवादास्पद

गडिनले गोल गर्नु एक मिनेट अगाडि स्वारेजले इटलीका जर्जियो शिलीनीको काँधमा टोकेको भीडीयो दृष्य विभिन्न सन्चार माध्यम मार्फत सार्वजनिक भएको छ।

स्वारेजले अरु खेलाडिलाई टोकेको यो पहिलोपटक भने होइन।

इंग्लीश प्रीमियर लिगमा लिवरपूल फुटबल टीमका लागि खेल्ने स्वारेजले सन २०१३ मा पनि यस्तै विवाद पछि दशवटा खेल खेल्न प्रतिबन्ध लगाइएको थियो।

त्यस अगाडि सन २०१० मा पनि त्यस्तै घटनामा सात खेल खेल्न प्रतिबन्ध लगाइएको थियो।

उरुग्वेका क्याप्टेन डिएगो गडीनले उरुग्वेले जित्ने गोल हान्नु एक मिनेट अघि त्यसका रक्षा खेलाडि जर्जीयो चिलिनीलाई लिभरपुलका प्रख्यात खेलाडि स्वारेजले टोकिदिएका थिए।

रातो कार्ड

त्यसअघि इटलीका एकजना खेलाडीले रातो कार्ड पाएर बाहिरिएका थिए।

उरुग्वेले अब आगामी शनिबार कोलम्बियासँग खेल्नेछ तर स्वारेज विवादमा तानिएका कारण पनि अबको खेल कठीन हुने बताइएको छ।

इंगल्याण्डसँग कुनै गोल नगरीकन बराबरीमा खेल टुग्याएको कोस्टारिका दोश्रो चरणमा पुगेको छ।

तर इंगल्याण्ड बाहिरिएको छ।

त्यस्तै कोलम्बियाले जापानलाई हराएर दोश्रो चरणमा प्रवेश गरेको छ।

र ग्रीसले आइभरी कोष्टलाई दुइका विरुद्ध एकले जितेर दोश्रो चरणमा प्रवेश गरेको छ।