मस्कोलाई पछि हट्न नेटो प्रमुखको आग्रह

  • 25 जुन 2014
तस्वीर कपीराइट AFP
Image caption विद्युरोहीहरुबाट युद्धविरामको पालना नभएको युक्रेनी अधिकारीहरुले बताएका छन

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख एन्डर्स फोग रास्मुस्सेनले यूक्रेनमा रुसले आफ्ना गतिविधिहरु जारी राखेको भन्दै मस्कोलाई पछि हट्न आह्वान गरेका छन्।

ब्रसेल्समा विदेशमन्त्रीहरुको बैठकपश्चात यूक्रेनको सुरक्षाको सामर्थ्य बढाउन उसलाई थप सहयोग गर्न बैठक राजी भएको उनले बताए।

रुसले नियम तोडेको भन्दै मस्कोले अन्तर्राष्ट्रिय दायित्व पुरा नगरेसम्म स्वीकार्य नहुने उनले जनाए।

कियभ सरकार र रुस समर्थक विद्रोहीहरुबीच युद्धविराम भएपनि पूर्वी यूक्रेनमा द्वन्द्व चर्किएपछि पश्चिमा देशहरुले रुसलाई थप आर्थिक प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन्।

जर्मन चान्सलर एंगेला मर्केलले स्थिति स्थिर बनाउने कदमहरु तीव्ररुपमा नचालिए नयाँ आर्थिक प्रतिबन्ध लगाउन सकिने बताएकी छन्।

ब्रिटेनका विदेशमन्त्री विलियम हेगले रुसले कुनै कदम नचालिबस्दा थप प्रतिबन्धका लागि तर्क बलियो हुँदै गएको बताए।

दायित्व

यसबीच नेटोका प्रमुख रास्मुस्सेनले रुसले यूक्रेनको स्थिति सुधार्न केही नगरेको आरोप लगाएका छन्।

उनले भने, ''रुसले यूक्रेनमाथि चढाइ गरेपछि हाम्रा व्यावहारिक सहयोग आदान प्रदान स्थगित भएको हो। अनि मलाई यो भन्नु पर्दा दुख लागेको छ कि रुसले उसको अन्तर्राष्ट्रिय दायित्व पुरा गर्नेतर्फ कुनै कदम चालेको मैले पाएको छैनँ।''

यूक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले युद्धविराम उल्लंघन जारी रहेकाले आफुले युद्धविराम भंग गर्न सक्ने चेतावनी दिएका छन्।

शुक्रबारदेखि युद्धविराम भइरहेको छ।

मंगलबार एक यूक्रेनी हेलिकप्टरलाई खसालिएको थियो जसमा नौ जनाको ज्यान गएको छ।

मंगलबार राती रुसी सीमा नजिकैको लुहान्स्क क्षेत्रमा लडाईं भएको छ।

उल्लंघन

यूक्रेनी सेनाले भनेको छ, युद्धविराम घोषणा भएयता विद्रोहीहरुले ४४ पटक त्यसको उल्लंघन गरिसकेका छन्।

एक पृथकतावादी नेताले चाहिं युद्धविरामनै नभएको बताए।

मध्य अप्रिलयता हालसम्म ती लडाईंमा ४२० जनाको ज्यान गइसकेको राष्ट्रसंघको अनुमान छ।

बिहीबार राष्ट्रपति पोरोसेन्कोले संवैधानिक सुधारका प्रस्तावहरु संसद समक्ष प्रस्तुत गर्ने ठानिएको छ।

जसमा उनले पूर्वी क्षेत्रहरुलाई थप स्वायत्तता दिने प्रस्ताव गर्ने ठानिएको छ।

शुक्रबार उनले लामो समयदेखि सही हुन नसकेको यूरोपेली युनियनसंग जोडिने एक सहमतिमा हस्ताक्षर गर्नेछन्।

त्यो त्यही सहमति पत्र हो, जसमा हस्ताक्षर गर्न गत जनवरीमा पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचले रुसको दबाबमा अस्वीकार गरिदिएका थिए।