युक्रेनको संघर्ष विराम फिर्ता हुन सक्ने

  • 25 जुन 2014
तस्वीर कपीराइट Reuters
Image caption सैनिक हेलिकप्टर उडेको केहि बेरमै विद्रोहीले रकेट आक्रमण गरेर खसालिदिएका छन्

युक्रेन सेनाले उसको हेलिकप्टर रुस समर्थक विद्रोहीहरुले रकेट हानेर खसालिदिएको र हेलिकप्टरमा सवार नौ जना सबै मारिएको बताएको छ।

विद्रोही नियन्त्रणमा रहेको स्लोभियान्स्क नगर नजिकै उडेको केहि बेरमै Mi-8 हेलिकप्टरमाथि रकेट प्रहार गरिएको युक्रेनी सेनाले बताएको छ।

सरकारको शान्ति योजनाको प्रत्युत्तरमा विद्रोहीहरुले शुक्रबारसम्म संघर्षविरामको पर्यवेक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेको भोलीपल्ट यस्तो घटना भएको छ।

युक्रेनी राष्ट्रपतिले देश बाहिरबाट नियन्त्रित विद्रोहीहरुले संघर्ष विरामको निरन्तर उल्लंघन गरेकाले संघर्ष विराम अन्त्य हुन सक्ने बताएका छन्।

अप्रभावकारी विराम

पेट्रो पोरोशेन्कोको कार्यालयबाट आएको विज्ञप्तीमा भनिएको छ; राष्ट्रप्रमुखले संघर्ष विरामको समयतालिका फिर्ता लिन पनि सक्छन्।

संघर्ष विरामको अप्रभावकारिताको संकेत स्वशैलीको डोनेट्स्क पीपल्स रिपब्लीकका नेता अलेक्सान्डर बोरोडाइको भनाइबाट पनि मिल्छ।

युक्रेनी सरकारको विरोधमा रहेका उनले संघर्ष विराम जारी राख्नुको कुनै अर्थ छैन भनेका छन्।

उनले रुसी टेलिभिजनसँग भने म औपचारिक रुपमा भन्न चाहन्छु त्यहाँ संघर्ष विराम नै थिएन र हुने छैन ।

निरन्तर लडाइ

सोमबार उनका फौजले शुक्रबार विहानसम्म संघर्ष विरामको पर्यवेक्षण गर्ने भनेका उनले भनेका छन्; हाम्रा लागि निरन्तर लड्नु बाहेक अरु कुनै विकल्प छैन।

कियभस्थित हाम्रा संवाददाता डेभिड स्टर्नको विश्लेषण छ, पूर्वका लागि घोषणा गरिएको संघर्ष विराम अब मृत पत्र सरह भैसकेको छ।

पोरोशेन्कोले उक्त आक्रमणको जवाफ कसरी दिन्छन् स्पष्ट भैसकेको छैन तर आम आक्रोशका आधारमा पनि कुनै न कुनै किसिमको सैन्य प्रत्याक्रमण मागेको देखिन्छ।

र युक्रेनी सरकारले सैन्य शक्ति प्रयोग गर्ने वित्तिकै युक्रेनी विद्रोही र तिनका हतियारधारी रुसी मित्रहरुले त्यस्तै जवाफ दिनेछन् त्यसैले तनाव चुलिने पक्का छ।