सुवारेजलाई ४ महिना फुटबल खेल्न प्रतिबन्ध

  • 26 जुन 2014
तस्वीर कपीराइट reuters
Image caption यो सजाय विश्वकम प्रतियोगिताकै इतिहासमा सबैभन्दा कठोर हो।

यूरुग्वेका खेलाडी लुईस सुवारेजलाई इटलीका खेलाडीलाई टोकेको अभियोगमा ९ वटा खेलको प्रतिबन्ध लगाईएको छ।

मंगलबार भएको विश्व कप प्रतियोगिताको दौरान इटलीसंग भएको खेलमा उनले विपक्षी खेलाडी जोर्जियो किएलीनीको काँधमा दागै बस्ने गरी टोकेका थिए।

फुटबलको विश्व प्रशासकीय निकाय फिफाले स्वारेजलाई आगामी चार महिनासम्म फुटबलसंग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगाएको छ।

यो निर्णयसंगै स्वारेजले अब यस विश्वकपका बाँकी खेलहरु खेल्न पाउने छैनन्।

प्रारम्भिक चरणमा यूरुग्वेले इंग्ल्याण्ड तथा इटली जस्ता बलिया टोलीलाई हराएको थियो।

सजाय

उसको विजयमा २७ वर्षीय स्वारेजको उल्लेखनीय योगदान रहेको थियो।

फिफाले मंगलबार युरुग्वेले इटलीलाई जितेको खेलका क्रममा भएको घटनाका सम्बन्धमा अनुशासनको कारवाही सम्बन्धी प्रकृया अगाडि बढाएको थियो।

इटलीका खेलाडी किएलीनीले सुआरेजले आफूलाई देब्रे काँधमा टोकेको बताएका थिए भने सुआरेजले ती खेलाडी आफूसँग आएर ठोकिएको प्रतिक्रिया दिएका थिए।

खेलमा उक्त घटना भएका बेला मेक्सिकोका रेफ्रीले कुनै कदम चालेनन् तर फिफाले अनुशासनको कारवाही थाल्यो।

फिफाको पछिल्लो निर्णयबारे पुनरावेदनको निवेदन दिन यूरुग्वेसंग तीन दिन रहेको छ।

कठोर

यो प्रतिबन्ध विश्व कप प्रतियोगिताको इतिहासमा सबैभन्दा कठोर हो।

यस अघि सन् १९९४ मा इटलीका माउरो टासोट्टीलाई विपक्षी खेलाडी लुइस इन्रीकेलाई कुहिनोले हिर्काएको आरोपमा आठवटा म्याच खेल्न प्रतिबन्ध लगाइएको थियो।

फिफाको अनुशासन समितिका अध्यक्ष क्लाउडियो सुल्सरले एक विज्ञप्तिमार्फत यस्ता व्यवहारहरु कुनैपनि फुटबल मैदानमा अस्वीकार्य हुने अझ करोडौ मानिसहरुको आँखा पर्ने विश्व कप प्रतियोगितामा त कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएका छन्। यो घटनासहित सुवारेजले आफ्नो खेल जीवनमा तीन पटक प्रतिद्वन्दीलाई टोकी सकेका छन्।