प्रधानमन्त्री कोइरालालाई फोक्सोमा क्यान्सर

  • 26 जुन 2014
सुशील कोइराला तस्वीर कपीराइट bbc
Image caption विगतमा जिब्रोमा क्यान्सर भएर निको भएका कोइराला गत माघमा प्रधानमन्त्री नियुक्त भएका हुन्

प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सोमा क्यान्सर भएको पुष्टि भएको उनका निजी चिकित्सकले जनाएका छन्।

लामो समयदेखि खोकी लागेपछि गरिएका परीक्षणहरुमा फोक्सोमा दाग देखिएपछि प्रधानमन्त्री कोइरालालाई हतार हतार अमेरिकाको न्यूयोर्क स्थित एक प्रतिष्ठित क्यान्सर अस्पतालमा लगिएको थियो।

त्यहाँका डाक्टरहरुले बायोप्सी लगायत अन्य विविध परीक्षणहरु गरेपछि आएको नतीजा अनुसार उनलाई पहिलो चरणको क्यान्सर भएको देखिएको छ।

उनीसंगै हाल अमेरिका पुगेका उनका निजी चिकित्सक करवीरनाथ योगीले भने, “दायाँ फोक्सोको माथितिर सानो जुन दाग भनिया थियो, त्यो पहिलो चरणको क्यान्सर देखियो। विभिन्न स्क्यान र बायोप्सी जस्ता परीक्षणपश्चात यो निर्क्योल भएको हो।”

प्रारम्भिक चरण

क्यान्सर प्रारम्भिक चरणमा रहेको र अन्यत्र नफैलिएकाले चाँडै निको हुने चिकित्सकहरुले बताएका छन्।

विगतमा जिब्रोमा क्यान्सर भएर निको भएका प्रधानमन्त्री कोइरालालाई हाल देखिएको क्यान्सर त्यहींबाट फैलिएको हो वा छुट्टै हो भन्ने अझै थाहा लागि नसकेको डा योगीले बताए।

७५ वर्षीय कोइरालालाई पुरानो ब्रोंकाइटिस अर्थात श्वासनलीमा संक्रमणको रोग भएकाले क्यान्सर भएको टुक्रा शल्यक्रिया गरी फाल्ने प्रकृयाले अन्य जटिलता ल्याउन सक्ने भन्दै डाक्टरहरुको टोलीले उनलाई उत्तिकै प्रभावकारी मानिने रेडियोथेरापी अर्थात विकिरण मार्फत उपचार थाल्ने परामर्श दिएको छ।

प्रारम्भिक चरणमै रोग पत्ता लागेको हुनाले चाँडै निको हुने कोइरालाका चिकित्सकले बताएका छन्।

अबको दश बाह्र दिनपछि उनी काठमाण्डौं फर्कन सक्ने पनि डाक्टर योगीले बताए।

“जिब्रोको क्यान्सर लागेपश्चात पनि जसरी वहाँले सामान्य जीवन बिताउनु भएको छ, त्यसैगरी यो फोक्सोको क्यान्सरको उपचारपछि वहाँले सकृय जीवन विताउन सक्नु हुनेछ,” डा योगीले भने।

प्रधानमन्त्री विदेशमै रहनुपरेको हुँदा उनको अनुपस्थितिमै सरकारले नीति तथा कार्यक्रम आगामी साता ल्याउन लागेको छ।