३० जना आप्रवासीको मृत्यु

  • 30 जुन 2014
तस्वीर कपीराइट AFP
Image caption यसरी जलसेनाले उत्तर अफ्रिकाबाट युरोप जाने थुप्रै आप्रवासीलाई उद्धार गर्दै आएको छ

इटलीको जलसेनाले ६ सय यात्रुले भरीएको एक डुंगाभित्र करिब ३० वटा लाशहरु फेला पारेको छ।

ती आप्रबासीहरुको मृत्यु डुंगाको इन्जिनको धुवाँ आउने ठाउँनेर कोचाकोच गरी बसेको अवस्थामा निसास्सिएर भएको ठानिएको छ।

दुई गर्भवती महिला सहित केही मानिसहरु आपतमा परेको देखिएपछि जलसेनाले उक्त डुंगामा जाँचपड्ताल गर्दा उक्त घटना देखिएको हो।

सो डुंगा भेट्टाएका इटालियन जलसेनाको जहाजका कमाण्डर स्टेफानो फ्रेमोरीले घटनाबारे बीबीसीसंग कुरा गर्दै भने, “तपाई विचार गर्नुस् एउटा २० मीटर जति लामो माछा मार्नेहरुले प्रयोग गर्ने डुंगा पूरै भरिएको थियो। हामीले जाँचपडताल गर्यौँ। त्यहाँ साँघुरो ठाउँभित्र हामीले ३० वटा जति लाश भेट्यौं। शायद यो संख्या अझ बढी हुन सक्छ, यदी हामीले भित्र छिरेर राम्ररी गन्न पाएका भए।”

उद्धार

जलसेनाका अनुसार यो सप्ताहअन्त्य मात्र उत्तर अफ्रिकाबाट यूरोपतर्फ जान खोज्ने पाँच हजार आप्रबासीलाई उद्धार गरिएको छ।

सम्वाददाताहरु भन्छन्, “पैसावाल यात्रुहरु डुंगाको माथिल्लो भागमा अलि बढी सुविधाजनक रुपमा यात्रा गर्छन् भने गरीबहरु तल्लो भागमा कोच्चिन्छन्।”

इटली आफैंले यी शरणार्थीहरुलाई धान्न नसक्ने ठानिएको छ।

उसले पटक पटक इयूसंग मद्दतका लागि अपील गरिसकेको छ।

आशा

बीबीसीका रोमस्थित संवाददाता एलान जोनस्टन भन्छन्, “पछिल्लो घटनाबाट सुखद भविष्यको आशामा यूरोप जान खोज्ने आप्रवासीहरुले बेहोर्न परिरहेको जोखिमबारे पुन चर्चा परिचर्चा हुनेछ।”

यस वर्ष भूमध्य सागर पार गरी यूरोप पुग्न खोज्ने आप्रबासीहरुको संख्या निकै धेरै बढेको छ।

यूरोपेली यूनियन इयूको सीमा सुरक्षा निकाय फ्रन्टेक्सका अनुसार यस वर्ष इटलीमा मात्र ६० हजार आप्रबासी पुगेका छन्।

त्यो अरब क्रान्तिको उचाइको बखत सन् २०११ मा कायम भएको किर्तिमानभन्दा केवल तीन हजारले कम हो।

आप्रबासीहरुमध्ये अधिकांश सिरियाली तथा इरिट्रियाली रहेका छन्।